काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि सवा ३ अर्बको वार्षिक वजेट प्रस्ताव गरेको छ । शनिबार महानगरपालिका कार्यालयमा सम्पन्न पहिलो नगरसभाले आगामी आर्थिक वर्षको लागि ३ अर्ब २२ करोड ९१ लाख १० हजार रुपैयाँको बजेट प्रस्ताव गरिएको महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।
उनका अनुसार आगामी आर्थिक वर्षको लागि आन्तरिक स्रोतबाट १ अर्ब १६ करोड ४४ लाख रुपैयाँ र राजश्व वाँडफाँडबाट कूल ६ करोड गरी कूल १ अर्र्ब २२ करोड ४४ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिईएको छ । जसमा चालू आर्थिक वर्षमा राजश्व लक्ष्यको १ सय १९ प्रतिशत बढी उठेको बताईएको छ । यो आषाढ २५ गतेसम्मको तथ्यांक हो ।
महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि चालू तर्फ ४३ करोड १२ लाख ८७ हजार रुपैयाँ र पुँजीगत तर्फ २ अर्ब ७९ करोड ७८ लाख २३ हजार रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ । जुन पुँजीगत तर्फ कूल खर्चको ८६ दशमलव ६५ प्रतिशत हो ।
महानगरपालिकाले नेपाल सरकारबाट सशर्त अनुदान तर्फ कृषि पशु स्वास्थ्य र शिक्षाको लागि कूल २८ करोड १२ लाख ६३ हजार रुपैयाँ प्राप्त भईसकेको जनाएको छ । वित्तीय समानीकरण तर्फ ५६ ककरोड ७ लाख ४७ हजार रुपैयाँ, बहु वर्षीय सडक तर्फ १० करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ । अन्य शीर्षकगत बजेट पारित गर्नको लागि नगरसभाको बन्दसत्र सुरु भईरहेको छ ।