प्रकाशमान भन्छन् - केन्द्रीय तहमा कांग्रेस पहिलो हुन्छ
प्रकाशित २०७४ असार ३१ शनिबार
172
Shares
पोखरा। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले एकले अर्कोलाई गाली गलौज गर्ने प्रवृत्ति त्यागेर सबै एक ढिक्का भएर पार्टीलाई अगाडि बढाउन आग्रह गरेका छन् ।
नेपाली काँग्रेसका नेता रामहरि जोशीको असामयिक निधनमा कास्की काँग्रेसद्वारा शनिबार यहाँ आयोजित शोक सभामा बोल्दै नेता सिंहले स्थानीय तहको निर्वाचनमा सोचे जस्तो परिणाम नआए पनि प्रदेश तथा केन्द्रीय तहको निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा स्थापित गर्न सबैको सामूहिक प्रयासको खाँचो औँल्याए ।
उनले नेपाली काँग्रेसको नेतृत्वमा संविधान जारी भएको र काँग्रेसकै नेतृत्वमा संविधानको कार्यान्वयन र संस्थागत विकास गर्न पार्टीको काँधमा गहन जिम्मेवारी थपिएको बताए ।
नेता सिंहले व्यवस्था परिवर्तनका लागि हुने आन्दोलनमा सबै राजनीतिक दल एक भएझै आर्थिक समृद्धि र विकासका लागि पनि सबै राजनीतिक दलको एकता अपरिहार्य भएको धारणा राखे।
उनले काँग्रेसका नेता स्व रामहरि जोशीले देखाएको बाटो अवलम्बन गरे मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जलि गरेको ठहर्ने विचार व्यक्त गरे ।सो कार्यक्रममा काँग्रेसका नेता चन्द्र भण्डारी, दीपक गिरी, एनपी साउद, शङ्कर भण्डारी र पार्टीका कार्यकर्ता सहभागी थिए ।