रायमाझीले भने 'मन्त्री बनाउने ठाउँमा छु, मलाई मन्त्रीको के लालसा ?'
दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुन्छ : रमेश लेखक
प्रकाशित २०७४ असार ३१ शनिबार
276
Shares
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले एक÷दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा लेखकले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको कारणले मन्त्रिमण्डल विस्तारमा केही ढिलाई भएको भएपनि अबको दुईदिनभित्रै सरकार विस्तार हुने बताएका हुन् ।
उनले भने, ‘सरकार विस्तारमा विलम्ब भएकै हो, अहिले हामी अन्तिम छलफलमा जुटेका छौं, ढिलाई भएपनि अब चाँडोभन्दा चाँडो सरकार विस्तार हुन्छ, आज साँझसम्म हामी यसबारेमा छलफल गर्छौं, खासगरी मन्त्रालय बाँडफाँड गर्ने काम करिब–करिब सकिएको छ, मन्त्री कस कसलाई बनाउने भन्नेबारे पनि आजभोलिभित्रै टुँगो लाग्छ, मलाई लाग्छ अबको दुईदिनभित्रै सरकार विस्तार हुन्छ।’ उनले केही शीर्ष नेताहरु उपत्यका बाहिर भएकोले छलफल हुन नसकेकोले नेताहरु आज साँझ बसेर भोलिसम्म सरकार विस्तार टुँग्याउने बताए ।
साक्षात्कारमा उनले सरकारमा सहभागिता गराउनेबारे राप्रपा र संघीय समाजवादी फोरम नेपालसँग कुराकानी भैरहेको बताए । नेता लेखकले राजपा स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा सहभागी हुने विश्वास दिलाए । उनले भने,‘राजपा निर्वाचनमा आउँछ, असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा राजपा सहभागी हुन्छ, त्यही उद्देश्य उहाँहरुले दल दर्ता गर्नुभएको हो, निर्वाचन चिन्ह पनि माँगिरहनुभएको छ ।’ सरकारले संविधान संशोधन प्रस्ताव पारित गराउनको लागि महत्वपूर्ण प्रयास गरेको भएपनि प्रस्तावको पक्षमा दुई तिहाईको सुनिश्चितता हुन नसक्दा केही विलम्ब भएको उनको भनाई थियो ।
लेखकले भने,‘संशोधन प्रस्तावको पक्षमा एमालेले समर्थन नगर्दा दुई तिहाईको सुनिश्चितता हुन नसकेको हो, संशोधन प्रस्ताव पारित गराउनको लागि हामी संशोधन पक्षधरहरु कांग्रेस, माओवादी केन्द्र, राप्रपा र राजपा लगायतका दलहरु एकमत छौं।’ उनले प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको निर्वाचन कुनैपनि हालतमा नरोकिने स्पष्ट पारे । यद्धपी सरकारले संशोधनको प्रयत्न भने जारी राख्ने उनको भनाई थियो ।
लेखकले निर्वाचन क्षेत्र निर्धारण आयोग छिट्टै गठन गर्ने समेत जानकारी दिए । उनले भने,‘सबै तयारी भैरहेको छ, दुईदिनभित्रै सरकार विस्तार हुन्छ, र त्यही विस्तारित सरकारले आयोग गठन गर्ने काम गर्छ।’ अहिले संविधानले प्रदत्त गरेको निर्वाचन क्षेत्र अर्थात १६५ नै हुने समेत बताए । लेखकले भने,‘२४० को हल्ला फैलाइएको छ, यो मान्य हुनेछैन, यो संविधानतः वा राजनीतिक रुपले पनि अनुकुल छैन।’
त्यस्तै उनले छुटेका मतदाताहरुको नामावली संकलनको लागि १५ दिनको समय दिईएको र सदरमुकाममै गएर दर्ता गराउनुपर्ने कुरा मतदाताहरुको लागि अलिक झन्झटिलो भएको बताए । उनले भने,‘यस्तो मध्य वर्षको समय छ, स्थानीय तहबाटै नामावली संकलन गर्नुपर्दथ्यो।’ उनले घरदैलोमा पुगेर मतदाता संकलन गर्नुपर्ने थियो भन्दै सदरमुकामबाट भोलिबाट सुरु गर्ने मतदाता नामावली संकलनप्रति गुनासो पोखे ।
प्रधानमन्त्री देउवाले ४० दिनभित्र महत्वपूर्ण तथा ऐतिहाँसिक कामहरु सम्पन्न गरेको समेत लेखकको भनाई थियो । उनका अनुसार देउवाले दोस्रो चरणको निर्वाचन अत्यन्तै शान्ति र सफल रुपमा सम्पन्न गराएको, तेस्रो चरणको निर्वाचनको लागि आवश्यक तयारीहरु गरिरहेको, प्रदेश र केन्द्रिय संसदको निर्वाचनको लागि आवश्यक कानूनहरु तर्जुमा गर्ने काम भैरहेको, स्थानीय कर्मचारी खटनपटन लगायत महत्वपूर्ण कामहरु यो छोटो अवधिमा गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले निर्वाचन अघि संविधान संशोधन गर्न नहुने स्पष्ट पारेका छन् । उनले भने,‘सबै तहको निर्वाचन सम्पन्न भएपछिमात्रै संविधान संशोधनबारे सोच्न सकिन्छ, अहिले संशोधनबारे कसैलेपनि नसोचे हुन्छ।’ज्ञवालीले आफ्नो पार्टी संशोधनको बाधक नभएको समेत स्पष्ट पारे । ‘एमाले संशोधनको बाधक होईन, हामी संशोधनबारे चुनावपछि छलफल गर्न तयार छौं, उनले भने,‘हामीलाई कर्नरमा पार्न ल्याईएको संशोधन प्रस्ताव फिर्ता हुनुपर्छ, त्यसपछि हामी फ्रेश रुपमा छलफल गर्न तयार छौं।’
सरकारले एमाले र राजपासँग एउटै विषयमा फरक–फरक कुरा गरेर चिटिङ् गरिरहेको उल्लेख गर्दै ज्ञवालीले भने,‘सत्तारुढ दलका नेताहरुले हामीसँग एउटा सहमति गर्नुहुन्छ कि अब संशोधन निर्वाचनपछिमात्रै गरौंला भन्नुहुन्छ, तर राजपाका नेताहरुसँग उहाँहरु फेरि यही संशोधन प्रस्तावमा एमाले सहमत भैसक्यो, अब पास हुन्छ भन्नुहुन्छ, उहाँहरु चिटिङ् गर्दैहुनुहुन्छ।’
उनले निर्वाचन क्षेत्र निर्धारण आयोग चाँडोभन्दा चाँडो गठन गर्न समेत सरकारसँग आफूहरुले माँग गरिरहेको बताए । उनले भने,‘सांसदको संख्या बढाउने कुरा एमालेले कल्पना समेत गर्न सक्दैन्, सुन्नपनि तयार छैन्, यदि कुरा आउँछ भने ठाडै खारेज र अस्विकार गरिदिन्छौं।’
उनले अहिले संविधानले व्यवस्था गरे अनुसार तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्नतिर लाग्नुपर्नेमा जोड दिए । ज्ञवालीले सांसदको संख्या बढाउने मुर्खतापूर्ण प्रस्ताव अघि नबढाउन चेतावनी दिए । ज्ञवालीले छुटेकाहरुको लागि भोलिबाट सुरु हुने मतदाता नामावली संकलनको लागि सदरमुकाम जानुपर्ने कुरा अत्यन्तै अव्यवहारिक रहेको गुनासो पोखे ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले निर्वाचनको कारणले मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको बताएका छन् । उनले आफू मन्त्री बन्न लालयित नभएको समेत जिकिर गरेका छन् । उनले भने,‘म मन्त्री पटक÷पटक भैसकेको छु, मन्त्री बन्न मैले प्रतिष्पर्धा गर्नुपर्दैन, म त मन्त्री बनाउने ठाउँमा छु, म संसदीय दलको उपनेता हुँ।’
नेता रायमाझीले अबका एक साताभित्रै मन्त्रिमण्डल विस्तार हुने विश्वास व्यक्त गरे । उनले थपे,‘मलाई लाग्छ अबको एक हप्ताभित्रै सरकार विस्तार हुन्छ, हाम्रो पार्टीमा त मोटामोटी सहमति भैसकेको छ।’
संविधान संशोधन प्रस्ताव पारित गराउनको लागि सरकारले पहलकदमी लिएको भएपनि दुई तिहाईको सुनिश्चितता नभएका कारण प्रस्ताव पारित गराउन विलम्ब भएको उनको भनाई थियो । ‘संशोधनको बारेमा दलहरुवीच अझैसम्मपनि सहमति हुन सकेको छैन’, उनले अघि भने,‘सहमति भएको भए यसरी अड्किएर बस्दैन थियो।’ रायमाझीले अब संविधान संशोधनको एजेण्डामा अल्झिएर बसिरहन नहुने समेत जिकिर गरे । उनले भने,‘अब स्थानीय तहको तेस्रो चरणको निर्वाचन, प्रदेश र केन्द्रिय संसदको निर्वाचन गर्नतिर प्रयत्न गर्नुपर्छ।’ यद्धपी उनले संशोधन प्रस्तावलाई पारित गराउनको लागि सरकारका तर्फबाट पर्याप्त प्रयासहरु भैरहेको जनाए ।
राजपा नेपालका शीर्ष नेता अनिल झाले संविधान संशोधन नभएसम्म आफ्नो पार्टीले कुनैपनि निर्वाचनमा भाग नलिने स्पष्ट पारे । उनले भने,‘यथास्थितिमा हामी कुनैपनि निर्वाचनमा भाग लिँदैनौं, हाम्रो कुरा बडा क्लियर छ।’झाले संविधानको मस्यौदा तयार पार्दादेखि नै रिर्जर्भेशन अहिलेसम्मपनि कायमै रहेकोले संविधान संशोधन नभएसम्म निर्वाचनमा भाग नलिने जिकिर गरेका हुन् । उनले भने,‘प्रदेश नम्बर दुईको निर्वाचनमा राजपाले भाग नलिने संभावना बढि छ।’उनले एजेण्डा र निर्वाचनमध्ये एक रोज्दा आफूहरुले एजेण्डा रोजेकोले यसअघिका निर्वाचनपनि बहिष्कार गरेको दाबी गरे । उनले भने,‘हामी क्लियर छौं, हामी एजेण्डा छोड्दैनौं।’