महान्यायाधिवक्ता भन्छन् –म पदमा बस्दै बस्दिँन, तर लखेट्नु भएन
व्यवसायिकताका लागि न्यायालय प्रमुखविरुद्ध उभिनु पर्यो
प्रकाशित २०७४ असार ३१ शनिबार
496
Shares
काठमाडौं । महान्यायाधिवक्ता रमन श्रेष्ठले आफु अब पदमा बस्दै नबस्ने बताएका छन् । उनले राजीनामा नदिँदै काँग्रेस निकट वकिलहरुको दौडधुप सुरु भइसकेको छ । श्रेष्ठले हाम्राकुरासँग भने, ‘मेरो प्रधानमन्त्रीसँग भेट भयो । तर, उहाँले केही समय बस्नुस् भन्नु भा छ । प्राविधिक केही कुरा मिल्न बाँकी छ । केही दिनमा यो विषयको टुंगो लाग्छ ।’
महान्यायाधिवक्ता श्रेष्ठले भनेका छन्, ‘प्रहरी प्रमुख नियुक्ति र भरतपुर मत गणना विवादसँग आफुलाई जोडेर हटाउन लागेको भन्दै विषयान्तर गरियो । यसरी लखेट्न खोज्नु राम्रो होइन । म बस्दै बस्दिँन । प्रधानमन्त्रीसँग कुरा भइसकेको छ ।’
दुई पार्टीबीचको सहमतिको कुरा हो, उनले अगाडि थपे, ‘दुई पार्टीका बीचमा छलफल भइरहेको छ । केही प्राविधिक कुरा मिल्न बाँकी छ । सरकारको नेतृत्व गरिरहेको पार्टी निकटका वकिलले दौडधुप गर्नु स्वभाविकै हो ।’
उनले आफुलाई नियुक्त गर्ने प्रधानमन्त्रीले राजीनामाा दिईसकेपनि प्रधानमन्त्री शेरबहादुर देउवाले आफुलाई अहिले नै किन हतार गर्नु हुन्छ भनेको सुनाए ।
शनिबार काठमाडौंको टेकुमा महान्यायाधिवक्ताको कार्यालयको दोस्रो पञ्चवर्षीय रणनितीक योजना अन्तर्गत पहिलो वर्षको कार्यान्वयन समिक्षामा पनि श्रेष्ठले भने, ‘अहिले मलाई कथाले मागेको छ, महान्यायाधिवक्ताको कुर्सीमा बस्नु मेरो बाध्यता रहयो । तर, अब धेरै समय रहन्नँ ।’
पुष्पकमल दाहाले नेतृत्वको गठबन्धन सरकारमा महान्यायाधिवक्ता नियुक्त भएका श्रेष्ठले नयाँ प्रधानमन्त्रीको निर्वाचन भैसक्दा समेत राजिनामा नदिएपछी कतिपयले उनलाई ‘पदलोलुप’को आरोप समेत लगाएका छन् । तर, उनले प्रधानमन्त्री शेरबहादुर देउवाको अनुरोधले आफु अहिलेसम्म बसिरहेको बताए । व्यवसायिकताका लागि न्यायालय प्रमुखविरुद्ध उभिनुपरेको सम्झँदै श्रेष्ठले, ‘व्यवसायिकता कठोर हुन्छ कहिलेकाँही आफ्नैविरुद्ध पनि उभिनुपर्ने अवस्था आउने रहेछ’, भने ।