arrow

बाख्रापालन व्यवसायमा महिलाको आकर्षण

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ साउन २ सोमबार
palpa-goatfarm.jpg

पाल्पा ।पछिल्लो समय जिल्लामा बाख्रापालन ब्यवसाय फस्टाउँदै गएको छ । कम मेहनत र लगानीमै मनग्ये आम्दानी हुन थालेपछि यस तर्फ महिला कृषकको आकर्षण बढेको हो । बाख्रापालनको राम्रो सम्भावना भएकाले यस ब्यवसायमा आकर्षण बढेको कृषकहरु बताउँछन् ।  उन्नत जातका बाख्राबाट जन्मिएका बोका हुर्काएर खसी पारी कृषकले मासुका रुपमा बिक्रि गर्न थालेपछि कृषकले राम्रो आम्दानी गर्न थालेका छन् ।

 पाल्पामा पुरुष भन्दा बढी महिला बाख्रापालन ब्यवसायमा आकर्षित भएका छन् । पाल्पाका खानीछाप , पूर्वि क्षेत्र गल्धा, सिलुवा, मित्याल, गाँडाकोट, दर्छा  र सहलकोट लगाएतका ठाँउहरुमा  बाख्रापालन ब्यवसाय फस्टाउदै गएको पाईन्छ । बजारमा खसीको मासु प्रति केजी ७ सय पुगेपछि पाल्पाका कृषक बाख्रा पालेर लाखौँ रुपैयाँ आयआर्जन गरिरहेका छन् । गाईभैसी पालेर  दुध विक्री गर्नुभन्दा बाख्रा खसी पाल्दा बढी आम्दानी हुन थालेपछि बाख्रा पालन सुरु गरेको  खानीछाप ४ की यम कुमारी चिदीले बताएन्।

 उनले बाख्रा खसी पालेर बर्सेनि एक लाख भन्दा बढी रुपैयाँ आम्दानी गर्ने गरेको बताइन् । २०६८ सालमा हेफर इनटरनेश्नल नामक गैरसरकारी सस्थाको सहयोगमा ब्यवसायीक रुपमा बाख्रापालन सुरु गरेपछि अहिले आफ्नो जीवनमा नसोचेकै परिवर्तन आएको चिदीले सुनाइन् । ‘पहिले – पहिले ६ महिना पनि खाना नपुग्ने परिवारमा बाख्रापालन गरेर समाजमा आर्थिक हैसियत राम्रो बनाउन सकेकी छु’ उनले भनिन् ।

 १५÷१६ वटा बाख्रा पाल्दै आएकी चिदीले घर खर्च मात्र नभई छोराछोरीलाई पढाउन पनि सजिलो भएको बताइन् ।  बाख्राको उचित स्याहार सुसार गर्ने हो भने आम्दानीको गतिलो माध्यम बन्ने उनको भनाई छ ।

 ५ वर्ष पहिला गाँउका केही महिलाहरुको सक्रियतामा महिला समूह गठन गरि व्यवसायीक रुपमा बाख्रापालन सुरु गरेपछि खानीछापका कृषक व्यवसायीक रुपमा बाख्रापालन गर्ने तर्फ आकर्षण बढेको खानीछाप सामाजिक उद्यमी महिला सहकारी संस्थाकी उपाध्यक्ष डोलीश्वरा चौहानले बताए । खानीछापका २ सय ७८ घरपरिवार कृषकहरु अहिले व्यवसायीक रुपमा बाख्रापालनमा लागेको महिला सहकारी संस्थाकी उपाध्यक्ष चौहानले बताए ।  दैनिक रुपमा घर खर्च समेत चलाउन गाह्रो हुने गरेका परिवारमा अहिले बाख्रापालन गर्न थालेपछि आर्थिक रुपमा समस्या नभएको संस्थाकी उपाध्यक्ष चौहानले बताउछन् ।
 
खानीछापकै गोमाण्डी महिला समूहकी  अध्यक्ष नरमती चैहानले ३० वटा बाख्रा पालेकी छन् । सुरुमा २ वटा बाख्राबाट सुरुवात गरेकी चैहानले बाख्रबाट राम्रो आम्दानी हुने भएपछि ब्यवसायीक रुपमै लागेको बताइन् ।   गैरसरकारी संस्था हेफर इन्टरनेश्नले गाँउमै बाख्रापालन ब्यवसाय सम्वन्धी तालिम दिएपछि यो व्यवसायमा लागेकी हुँ, उनले भनिन् ।
 
चौहान मात्र होइन् जिल्लाका सिलुवा,गल्धा, मित्याल, गाँडाकोट, सहलकोट लगायत क्षेत्रका  महिला कृषकहरु बाख्रापालन बाट राम्रो आम्दानी लिन सफल भएका छन् । सिलुवा ५ की विष्णु श्रेष्ठ बाख्रा आफ्ना लागि मात्रै थोरै संख्यामा पाल्नुको साटो व्यवसायीक पालनले फाइदा हुने देखेपछि व्यवसायीक रुपमा लागेको बताए । हिजो सम्म पविार चलाउन धौँ धौँ भएको  बताउदै  व्यवसायीक बाख्रापालनले आज सहज भएको श्रेष्ठको भनाई रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ