माओवादी केन्द्रमा उठ्यो केन्द्रीय समिति विघटनको माग
युवा नेताहरुले दिए नयाँ विकल्प
प्रकाशित २०७४ साउन ३ मंगलबार
155
Shares
काठमाडौं । माओवादी केन्द्रमा चार हजारको केन्द्रीय समिति विघटन गरिनु पर्ने माग उठेको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा चलिरहेको सचिवाल बैठकमा बोल्ने अधिकांशले थेगि नसक्नुको केन्द्रीय समिति विघटन गर्न माग गरेका हुन् ।
बैठकमा सहभागि सदस्य रमेश मल्लले भने, ‘बैठकमा केन्द्रीय समिति विघटन गरिनु पर्ने कुरा उठेको छ । हामीले पनि त्यही सुझाव दिएका छौँ ।’
उनका अनुसार बैठकमा बोल्ने अधिकांशले ९९ सय सदस्यीय महाधिवेशन आयोजक समिति बनाइनु पर्ने र त्यही महाधिवेशन आयोजक समितिले केन्द्रीय समितिको काम गर्ने गरी व्यवस्था मिलाउनु पर्ने सुझाव दिए ।
अन्य समितिहरु सबै भंग गरिनु पर्नेमा सचिवालय सदस्य र आमन्त्रित सदस्यहरुले जोड दिएका छन् । सचिवालय बैठकमा आमन्त्रित जिल्ला इन्चार्जहरुले स्थानीय निर्वाचनमा पार्टीले हार्नु परेको कारणबारे चर्चा गरे ।
सोमबारबाट सुरु भएको बैठकमा सहभागि अधिकांशले चार हजार जना सदस्य संख्या रहेको केन्द्रीय समिति विघठन गर्न माग गर्दै चुस्त र दुरुस्त केन्द्रीय समिति गठन गर्न माग गरे । आगामी निर्वाचनको तयारीका साथसाथै सांगठनिक संरचना हेरफेर गर्नु पर्ने आवाजो जोडतोडका साथ उठेको छ ।
संगठन अभावकै कारण स्थानीय तहको चुनावमा पराजय व्यहोर्नु परेको भन्दै बैठकका सहभागिले केन्द्रीय समिति विघटन गर्नुको विकल्प नभएको बताए ।
मंगलबार जनार्दन शर्मा, टेकहादुर बस्नेत, रमेश मल्ल, उर्मीला अर्याल, रामराज रेग्मी, जीवन बुढा, रामदीप आचार्य, पूर्ण सुवेदी, कमला रोक्का, डिलाराम आचार्य, देवी खड्का, दधिराम न्यौपाने, प्रलाद र देवेन्द्र लगायतले बोलेका छन् ।
मंगलबार बोल्ने जिल्ला इन्चार्ज तथा संयोजकहरुले संगठन, श्रोत साधनको अभाव र आर्थिक परिचालन सन्तुलित ढंगले गर्न नसकेकै कारण पार्टीले स्थानीय तहमा हार व्यहोर्नु परेको विवरण पेश गरेका छन् । सचिवालय बैठक वुधाबार सकिदै छ ।