- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
याङ्गुन । म्यानमारमा हिंसात्मक विद्रोह गरिरहेको यहाँको मुस्लिम जाती रोहिङ्गा विद्रोही विरुद्धको कारबाहीलाई सरकारले पनि कडा पारेको बताइएको छ ।
पछिल्ला केही महिनायता जारी यस कारबाहीका क्रममा कैयौँ नागरिक बङ्गलादेशतर्फ भागेका बताइएको छ । त्यस्तै कतिपय विद्रोहीलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ । म्यानमारको प्रहरीले गएको अक्टोबर महिनादेखि सो कारबाही सुरु गरेको हो । आक्रामक कारबाहीका कारण कोहीले आत्मसमर्पण पनि गरेका छन् भने ठूलो सङ्ख्याका विद्रोही भागेर छिमेकी बङ्गलादेशतर्फ पनि लागेका छन् । प्रहरीका अनुसार सो कारबाहीका कारण गत अक्टोबर महिनादेखि यता करिब ७० हजार व्यक्ति देश बाहिर भागेका छन् । ती मध्ये धेरैजसो बङ्गलादेश पुगेका छन् ।
म्यानमारको उत्तरी राखिन राज्यमा रोहिङ्गाहरुको बस्ती रहेको छ । ती क्षेत्रका अल्पसङ्ख्यक मुस्लिमहरुले आफ्नो हकअधिकारको लागि भन्दै यस्तो सशस्त्र विद्रोह गर्ने गरेको बताउने गरेका छन् । पछिल्लो समयमा गत अक्टोबरयता म्यानमारको प्रहरीले राज्यद्वारा आतङ्ककारी घोषित ती अल्पसङ्ख्यकका शिविर नष्ट गर्ने र कारबाही गर्ने गरेको छ । उनीमाथि निकै कडा निगरानी राख्ने गरेको बताइएको छ । म्यानमारको उत्तरी भूभाग राखिनमा आतङ्ककारी तालिम केन्द्र सञ्चालन गरेको भन्दै सो तालिम केन्द्रमा प्रहरीले धावा बोलेको थियो । त्यस कारबाहीमा परी केही विद्रोही गत आइतबार मारिएका छन् ।
कारबाहीका क्रममा प्रहरी र सेनाले धरपकड र हिंसात्मक कारबाही गरेको भनी लगाइएको आरोपको सरकारले खण्डन गरेको छ । प्रहरीले वैधानिकरुपमा नै ती विद्रोहीका विरुद्धमा कानुनबमोजिम कारबाही गरेको सरकारले जनाएको छ । म्यानमारमा पछिल्लो समयमा ती विद्रोहीसँगको वार्ताका लागि भन्दै युद्धविराम भएको थियो । म्यानमारका विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुकीले सो वार्ताका लागि सरकारीतर्फको वार्ताटोलीको नेतृत्व गरेकी थिइन्। तर सो वार्ता सफल हुन नसकेपछि प्रहरीले कारबाहीलाई तिब्रता दिएको समाचार आएको छ । एएफपी