arrow

महन्थ ठाकुरले पत्रकारमाथि खन्याए बालुवाटार बैठकमा उठेको रिस

हप्काउँदै भने, ‘अलिकति पनि उ छैन’

logo
प्रकाशित २०७४ साउन ४ बुधबार
mahantha_thakur.JPG

काठमाडौं । बालुवाटार बैठकबाट अनुहार विगारेर निस्केका राजपा नेताहरुले भित्र भएको असहमतिको रिस पत्रकारमाथि खन्याएका छन् ।

राजपाको अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले नै बैठकबाट बाहिरिएपछि पत्रकारमाथि रिस खन्याएका हुन् । बैठकमा कुनै प्रगति नभएको र सत्तापक्षले विगतकै कुरा कोट्याएको बताइरहेका बेला संक्षिप्त प्रतिक्रिया लिइरहेका पत्रकारले  चुनावमा जाने कि नजाने ? भनि प्रश्न सोधेपछि ठाकुर एकाएक तातिए ।

प्रश्नकर्ताको मुखैमा हेरेर ठाकुरले ‘यो प्रश्न नै बेइमानी हो । यथास्थितिमा कसरी चुनावमा जाने ? आन्दोलन गर्दा खेरी मानिसलाई जेलमा थुन्ने, मुद्धा चलाउने, हामीले चड्चड् सहने । अनि तपाइहरु सोध्नु हुन्छ चुनावमा नजाने ?' भन्दै हप्काएको शैलीमा जवाफ दिए । उनले मुख विगार्दै भने, ‘अलिकति पनि उ छैन ।’ रिसले चुर भएका ठाकुरलाई पछि पत्रकारहरुले प्रतिप्रश्न गर्ने आँट गरेनन् ।

रिस खन्याउनु अघि के भने ठाकुरले
संयोजक ठाकुरले बैठकमा भएका कुराबारे जानकारी दिँदै भने, ‘सरकारले गर्नु पर्ने अथवा मन्त्रिपरिषद्ले गर्नु पर्ने काम अगाडि बढाउने (सत्तापक्षका नेता) उहाँहरुले भन्नु भएको छ । अगाडि बढाउनु हुन्छ कि हुन्न ? पहिला पनि पटक–पटक सुनिसकेको हौँ । आज पनि सुन्यौँ । त्यो भन्दा बढी केही पनि भएको छैन ।’ ठाकुरले संविधान संशोधनका विषयमा पछि छलफल गर्ने कुरा भएको बताए ।

के भन्छन् नारायणकाजी ?  
बैठकमा सहभागि माओवादी नेता नारायणकाजी श्रेष्ठले  राजपा निर्वाचनमा आउने वातावरण बनाउनका लागि सरकारले गर्नु पर्ने कामहरु छिटो टुंग्याउने कुरा भएको बताए ।

उनले भने, ‘सरकारले गर्नु पर्ने शहीद घोषणा, आन्दोलनका क्रममा घाइते भएकाको उपचार र घाइते मध्ये पनि अवस्था नाजुक भएकाको जीवन निर्वाहबारे के गर्ने भनेर चाँडै निर्णय लिने कुरा भएको छ । मुद्दा छिटो फिर्ता गर्ने लगायत कुरा भएका छन् ।’ नेता श्रेष्ठले संविधान संशोधनको प्रस्तावका विषयमा के गर्ने भन्ने विषयमा पछि छलफल गर्ने कुरा भएको बताए ।    

सरकारको प्रस्ताव र प्रतिवद्धता  
सरकारले मुद्दा फिर्ता लगायतका राजपाका माग ३ दिनभित्र सम्बोधन गर्ने प्रतिवद्धता जनाएको छ । लगतै संविधान संशोधन विधेयक अघि बढाइने नेताहरुले बताएका छन् ।

नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेतासँग भएको छलफलमा राजपाका शीर्ष नेताहरुले मन्त्रिपरिषदले गर्ने निर्णय समेत नभएको गुनासो गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नै संशोधन विधेयकलाई मतदानमा लैजाने प्रस्ताव राखे । माओवादी अध्यक्ष प्रचण्डले पनि देउवाको प्रस्तावमा समर्थन गर्दै राजपा नेताहरुको राय मागेका थिए । यद्यपि, राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसँगै राजेन्द्र महतो र अनिल झाले सत्तारुढ दलको प्रस्तावमा सहमति जनाएनन् ।

बैठकमा माओवादी नेता नारायणकाजी श्रेष्ठले मुद्दा फिर्ता, कार्यकर्ता रिहाई, घाइतेलाई क्षतिपूर्ति र सहिद घोषणामा भइरहेको गृहकार्यबारे जानकारी दिए । नेता श्रेष्ठले भइरहेको गृहकार्य तत्काल अघि बढाउने बचन दिन प्रधानमन्त्री देउवालाई आग्रह गरे ।
सरकारले राजपा सामु संसदमा विधाराधीन संविधान संशोधन विधेयकलाई मतदानमा लैजाने प्रस्ताव राखेको छ । मतदानमा जे परिणाम आएपछि चुनावमा आउनै पर्ने  सरकारको प्रस्ताव छ ।

तर, राजपाले मन्त्रिपरिषदबाट गर्नुपर्ने निर्णयहरु पहिला गर्न माग गरेको छ । त्यसपछि मात्र संशोधन मतदानमा लैजाने कि नलैजाने ? र, लैजाँदा फेल भए के गर्ने भन्न सकिने राजपाका शीर्ष नेताहरुले बताएका छन् ।

संविधान संशोधनको मुद्दाले मन्त्रिपरिषद् विस्तार नै अवरुद्ध गरेपछि सत्तारुढ काँग्रेस र माओवादी केन्द्रले राजपालाई विधेयक अघि बढाउने प्रस्ताव राखेका हुन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नै संशोधन विधेयकलाई मतदानमा लैजाने प्रस्ताव राखे । माओवादी अध्यक्ष पुष्पकमल दाहालले समेत देउवाको प्रस्तावमा समर्थन गर्दै राजपा नेताहरुको राय मागे । राजपाका नेताले भने सत्तारुढ दलको प्रस्तावमा सहमति जनाएनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ