arrow

हल्कारा रित्तै , प्रभावहीन बन्दै हुलाक सेवा

logo
प्रकाशित २०७४ साउन ८ आइतबार
post_office.jpg

तेह्रथुम । सूचना र प्रविधिको विकाससँगै सर्वसाधारणमा हुलाक सेवा प्रभावहीन बन्दै गएको छ । अझै पनि सरकारी निकायमा हुलाकमार्फत चिठीपत्र आदानप्रदान गर्ने चलन भए पनि सूचना र प्रविधिका माध्यमबाट छिटोछरितो सञ्चारको आदान–प्रदान गर्न सकिने भएपछि सर्वसाधारणको त्यसतर्फ ध्यान जान छाडेको हो । 


हुलाकमार्फत चिठी आदानप्रदान गर्नेको संख्या बर्सेनि क्रमशः घट्दै गएको छ । टेलिफोन र इन्टरनेटको विकाससँगै हुलाकमार्फत चिठी पठाउनेको संख्या घटेको जिल्ला हुलाक कार्यालयका निमित्त प्रमुख रामलखन यादवले बताए । 

एकदशक अगाडिसम्मपनि कतिपयले हुलाकमार्फत चिठी पठाउँदै आए पनि हिजोआज सञ्चारको विकाससँगै हुलाकमार्फत पत्राचार कम भएको उनको भनाई छ । सरकारी कार्यालय, संघसंस्था तथा विद्यालय र एफएम रेडियोका चिठी अहिले पनि हुलाकमार्फत आउने गरेको तर व्यक्तिगत चिठी भने हुलाकमार्फत आदानप्रदान गर्ने चलन हराउँदै गएको उनले जानकारी दिए । 

प्रविधिको विकासले सर्वसाधारणमा हुलाक सेवाप्रतिको धारणा नै बदलिएको चर्चा गर्दै निमित्त प्रमुख यादवले भने, “राज्यले पनि समयअनुसार हुलाकलाई विकसित गर्न सकेन, आवश्यक नीतिनियम र पूर्वाधारको विकाससमेत नगरिँदा आज हुलाक सेवा जनतामाझ प्रभावहीन जस्तै बनेको छ, अब हुलाक केबल सरकारी निकायका चिठीपत्रको कारोबारका लागि मात्र हो भन्ने दिन पनि नआउँलान् भन्न सकिन्न ।” 

उनले हुलाक सेवालाई गुणस्तरीय बनाउन राज्यले नीतिनियममै परिमार्जन गर्नुपर्ने बताएका छन् । कार्यालयमा २० वर्ष सेवा गरिसकेका हुलाकी खड्गबहादुर कटुवालले भने, “ हुलाक सेवा समय अनुसार चुस्त र छिटोछरितो नबन्दा सर्वसाधारणको ध्यान घटेको हो । सर्वसाधारणले आधुनिक प्रविधिको प्रयोगमा छिनमै देशविदेशमा खबर आदानप्रदान गर्न सक्छन् ।” 

उनले भने “बीस वर्षअघि बोरामा हालेर चिठीपत्र बोक्नुपथ्र्यो अहिले मासिकरुपमा बल्ल दुई चार सय चिठीपत्र जम्मा हुन्छन् । कहिलेकाहीँ त हल्काराले रित्तै पनि हिँड्नुपर्छ । हुलाक सेवामा सर्वसाधारणको ध्यान क्रमशः घट्दै जाँदा कर्मचारीमा त्यसको प्रभाव परेको निमित्त प्रमुख यादवको भनाई छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ