arrow

चुडामणि शर्माको मुद्दामा मिसिल झिकाउन आदेश, सुनुवाइ लम्बियो

logo
प्रकाशित २०७४ साउन ८ आइतबार
Chudamani-Sharma1.jpg

काठमाडौँ । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको भनी दायर गरिएको रिट निवेदनको सुनुवाइका लागि मिसिल झिकाउने आदेश दिएको छ ।

न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलासले मिसिल झिकाउने आदेश दिएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए । उनका अनुसार विशेष अदालतमा चलिरहेको मुद्दाको पनि फाइल मगाउने निर्णय गरी सुनुवाइ स्थगित गरिएको छ ।

गत असार ४ गते न्यायाधीश चोलेन्द्रशमशेर जबरा र प्रकाश राउतको संयुक्त इजलासले शर्माको विशेष अदालतको मुद्दालाई यथास्थितिमा राखी सो मुद्दालाई पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो । शर्माकी श्रीमती कल्पना उप्रेतीले विशेष अदालतलाई विपक्षी बनाई शर्मालाई गैरकानुनी रूपमा थुनामा राखेको जनाउँदै गत असार २७ गते बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेकी थिइन् ।

शर्मालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि अहिले थुनामा राखिएको छ । कर फस्र्योट आयोगको सदस्य–सचिवसमेत रहेका शर्माविरुद्ध एनसेलको स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाई एनसेललाई उन्मुक्ति दिएको, २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेको लगायत आरोप लगाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ