काठमाडौं । काठमाडौंको ठमेलस्थित विभिन्न रात्रिक्लवमा अवैध गतिविधि भइरहेको खुलेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ठमेलस्थित विभिन्न रात्रिक्लबमा आइतबार छापा मारेर स्थलगत अनुगमन गरेपछि उक्त गतिविधि भइरहेको खुलेको हो ।
असार अन्तिमतिर संसद्को राज्य व्यवस्था समितिको बैठकमा नेपाली कांग्रेसकी सांसद तथा प्रधानमन्त्रीपत्नी आरजु देउवा राणाले राजधानीमा खुलेका नाइट क्लबबारे टिप्पणी गरेपछि गृह मन्त्रालयको निर्देशनपश्चात् जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको हो ।
आइतबार साँझ काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलको नेतृत्वमा गएको अनुगमन टोलीमा प्रहरीको तर्फबाट डीएसपी सोमेन्द्रसिंह राठौर सहभागी थिए ।
उक्त टोलीले ठमेलस्थित रात्री क्लबहरु रिप, पर्पल हेज, नगरकोट दोहोरी, इबिज्जा डिस्को र दरबारमार्गस्थित आइ क्लब, मधुशाला, अल नाइट ओपन बार, क्लब डेजाभुलगायत १० भन्दा डिस्को, डान्स तथा लोकदोहारीको अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लुइँटेलले जानकारी दिए।
कागजात चेकजाँचको क्रममा अधिकांश रात्रिक्लबहरुले सम्बन्धित निकायबाट लिनुपर्ने अनुमतिसमेत नलिएको, व्यवसायको उद्देश्यविपरीत काम गरेको, करछली गरेको भेटिएको थियो ।
अनुगमनको क्रममा इबिज्जा, डेजाभु, लेट नाइट, अल नाइट ओपन बारलगायत क्लबको भ्याटदर्ता तथा कम्पनी दर्ता गरेको कागजातसमेत पाइएको छैन । उनीहरुलाई तत्काल कागजात नबुझाए कारबाही गरिने चेतावनी दिइएको छ ।
अनुगमन टोलीका एक सदस्यका अनुसार क्लब डेजाभुले सामान्य खाजाघर र क्याटरिङ सञ्चालनको अनुमति लिएर डिस्को सञ्चालन गरेको भेटिएको छ ।
डेजाभु क्लबबारे सांसद राणाले चर्को आलोचना गरेकी थिइन् । रात्रि क्लबहरुको लगत संकलन तथा प्रतिवेदन तयार गर्ने काम भइरहेको बताइएको छ ।
उक्त प्रतिवेदन गृह मन्त्रालयमा बुझाएपछि मन्त्रालयले थप कारबाही अगाडि बढाउने भएको छ । अधिकांश रात्रिक्लब टिनएजर केटाकेटीले चुरोट, रक्सी, हुक्का खाने, रातभरि नाच्ने अखडा बन्दै गएको अनुगमनको क्रममा देखिएको थियो ।
स्रोतका अनुसार काठमाडौंका केही डान्स क्लबले खाजाघर दर्ता गरी डान्स क्लब चलाउने र वर्षौंदेखि भ्याट छली गर्दै आएका छन् । केही डान्स क्लबको विरुद्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौं, आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागमा पनि उजुरी परेको स्रोतको दाबी छ ।
काठमाडौंका अधिकांश डान्स क्लब र रेष्टुरेण्टमा कुनै घटना घटे थुप्रै मान्छे हताहती हुनसक्ने अवस्था रहेको प्रहरीको भनाइ छ ।