महोत्तरी । महोत्तरीको टुटेश्वरनाथ मन्दिर पछिल्लो समय युवायुवतीको आकर्षणको केन्द्र बनेको छ।
धार्मिक तथा ऐतिहासिक स्थलको रुपमा रहेको टुटेश्वरनाथ मन्दिरमा युवापुस्ताको आकर्षण बढेको हो। महेन्द्र राजमार्गबाट सात किमी उत्तरतर्फ बर्दिवास नगरपालिका ११ मा रहेको मन्दिर २१ औ शताब्दीमा प्रेमीप्रेमीकाको लागि संगमस्थलको रुपमा बिकास भएको छ।
साउन महिनाको प्रत्येक सोमबारका दिन मन्दिरमा हजारौँ युवायुवती आफ्नो प्रेम सम्बन्ध प्रगाढ बडाउन आउने गरेको पाइएको छ। अधिकांश प्रेमी जोडीले आफ्नो प्रेमको चिनो टुटेश्वर महादेव मन्दिर साक्षी राखी मायाको चिनो साटासाट गर्ने, एकअर्काप्रति समर्पित भएर टुटेश्वरनाथको शिवलिङ्गमा झुकेर कसम खाने, मन्दिर वरिपरि रहेको रुखमा, पाटीपौवामा प्रेम जोडीले सम्झनाका लागि नाम लेख्नेजस्ता कार्य गरेको पाइन्छ । प्रेम गरेर वैवाहिक बन्धनमा बाँधिएका आफ्नो वैवाहिक जीवन सुखमय बनाउन मन्दिरमा दर्शन गर्नेको लाम लाग्छ, उनीहरु भगवान् शिवजीलाई साक्षी राख्दै सँगै मर्ने, सँगै बाँच्ने कसम खानुको साथै प्रेम सम्बन्धलाई अझ गाढा बनाउने कसम खाने समेत गरेको पाइन्छ ।
मेलामा जल चढाउने कम र मोबाइलमा सेल्फी खिच्ने काम बढी मात्रामा भइरहेको मेला भर्नका लागि त्यहाँ पुगेका गौशाला नगरपालिकाका रवीन्द्र कुशवाहाले बताए । साउन महिनामा लाग्ने पवित्र बोलबम मेलामा निर्मल जल महादेवलाई चढाउनेको लर्को भन्दा प्रेम सम्बन्धलाई गाढा बनाउने प्रेमीप्रेमिकाको संख्या दिनानुदिन बढ्दै गएको कुशवाहाले जानकारी दिए ।
जिल्लाको प्रसिद्ध धार्मिकस्थलको रुपमा परिचित रहेको टुटेश्वरनाथ महादेव मन्दिरमा मनोकामना पूरा भएपछि श्रद्धालु काँवर लिएर आउनु, लड्डु चढाउनु, सुन चाँदी दान गर्नु, भौतिक संरचना बनाइनेजस्ता भाकल गर्नेको संख्या दिनानुदिन बढ्दै गएको खयरमाराका युवा वजरंगी सिंहले बताए । स्थानीय युवा सिंहका अनुसार टुटेश्वरनाथ महादेवको आर्शिवादले हजारौँ प्रेमी जोडीको टुटेको मन जोड्ने काम गरेको छ भने उनीहरुको वैवाहिक जीवनमा समेत खुशीयाली छाउनुको साथै हरेक मनोकामना पूर्ण भएको उदाहरण प्रशस्त रुपमा पाइन्छ ।
मेलामा आएका प्रेमी प्रेमीकाले एकापसमा मायाको चिनो साटासाट गर्ने भएपछि मेलामा गिफ्टको कारोबारबाट मनग्य आम्दानी गरिँदै आएको वर्षौंदेखि सो मेलामा कस्मेटिक व्यापार सञ्चालन गर्दै आएका बर्दिवासका विशाल तिवारीको भनाइ रहेको छ । टुटेश्वरनाथ महादेवजस्ता धार्मिकस्थलले टुटेका मन जोड्ने सामाजिक सद्भावको भावनाको केन्द्रको रुपमा रहेकाले यसलाई पर्यटन केन्द्रमा रुपमा विस्तार गरे महोत्तरीको नाम प्रख्यात हुने गौशाला बजारका व्यवसायी नरेन्द्र महतोले बताए ।
सामाजिक संस्कारलाई कायम राख्दै मन्दिरलाई पवित्र तीर्थस्थलको रुपमा प्रचारप्रसार गर्नका लागि हरेकले आआफ्नो स्थानबाट सहयोग गर्नुपर्ने धारणा महतोले राखेका छन् । मरहा नदी र खहरे खोलाको शिखरमा रहेको हिन्दूहरुको पवित्र धार्मिकस्थल टुटेश्वरनाथ मन्दिरमा साउनको प्रत्येक सोमबारबाहेक हरितालिका तीज, एकादशी, शिवरात्रिका दिन मेला भर्नका लागि आसपासका जिल्लालगायत सीमावर्ती भारतीय शहरबाट वर्षेनी हजारौँ श्रद्धालु भक्तजन आउने गरेको राससका लागी धनवीर महतो समचार लेखेका छन्