काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेकै दिन सरकार गठन गर्दा सघाएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सरकारमा सहभागि हुने च्याप्टर नै क्लोज भएको घोषणा गरिदिएको छ ।
सरकारले आफुहरुलाई सहभागि गराउन चाहेन, राप्रपा प्रमुख सचेतक कुन्ती कुमारी शाहीले भनिन्, ‘सरकारबाटै बाटो बन्द भयो ।’ सरकारले आफुहरुसँग गरेको सहमति तोडेको र समस्या समाधानका लागि भएका उपलब्धिहरु समेत धूलोमा मिलाएको उनले बताइन् ।
आफुहरुलाई सरकारमा लाने र संविधान संशोधन लगायत मुद्दालाई अघि बढाउने विषयमा सत्तारुढ काँग्रेस माओवादीसँग भद्र सहमति भएको थियो, उनले भनिन्, ‘हामीले सरकारमा जाने आधार तयार गर्न र वार्ताका लागि टोली गठन गरेका थियौँ । अहिले त्यो टोली भङ्ग भयो ।’
राप्रपाले कुन्तीकुमारी शाही, दिलनाथ गिरी र जयन्त चन्द भएको तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । राप्रपाले असार २३ मा भएको प्रधानमन्त्री निर्वाचनमा शेरबहादुर देउवालाई सघाएको थियो । देउवा सरकारमा आफ्नो प्रतिनिधित्व चाहेपनि दोस्रो चरणमा मन्त्रिमण्डल विस्तार हुँदासम्म पार्टीलाई कुनै महत्व नदिएको भन्दै राप्रपा असन्तुष्ट भएको छ ।
विघठन भएको वार्ता टोलीका सदस्य दिलनाथ गिरीले भनेका छन्, ‘सरकारमा जाने च्याप्टर नै क्लोज भयो । सरकारकै कारण । सरकारको गतिविधिले के पुष्टि हुन्छ भने सरकारले अहिले सम्म मधेसको समस्या समाधान र संविधान कार्यान्वयनका लागि गरेका सबै कुरा प्रचार मात्रै थिए र नाटक सिद्ध भए ।’ सरकारको यो गतिले विपक्षीले गतिलो मुद्दा पाएको छ भने, अब मेधस केन्द्रीत दलहरुमा अझ शंका बढाएको छ । राप्रपाका नेताहरुले संविधान संशोधनमा सरकार तयार छैन भन्ने प्रमाणित नै भएको पनि बताएका छन् ।
राप्रपाका नेताहरुले अहिले सम्म आफुहरु संसदमा विधाराधीन संविधान संशोधन प्रस्तावको पक्षमै रहेको बताए पनि सरकारको गतिविधिले सहयोग गर्ने वातावरण टर्दै गएको तर्क गरेका छन् । राप्रपाले सरकारलाई नसघाउने भनेसँगै प्रधानमन्त्री देउवा संकटमा फसेका छन् । देउवाले आफैलाई मतदान गर्ने पार्टीको समर्थन गुमाउने अवस्था आएको छ ।