काँग्रेस नेता शेर्माको दुवै किड्नी फेल, एक सातादेखि अस्पतालमा
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ साउन १२ बिहिबार
958
Shares
पाँचथर । दुवै किड्नी काम नलाग्ने भएपछि नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री पूर्णकुमार शेर्मा एकसातादेखि अस्पताल उपचाररत छन्।केही साता अघिदेखि सामान्य विरामी भएका शेर्माको दुवै किड्नीले काम नलाग्ने भएपछि अस्पताल भर्ना गरिएको हो ।
एक साता अघि वीर अस्पतालले इमरजेन्सी वार्डमा बेड नभएको भन्दै फिर्ता गरेपछि पुल्चोक स्थित निदान अस्पतालमा उनको भर्ना गरिएको छ ।काँग्रेसको पूर्व केन्द्रीय सदस्य समेत रहेका ७४ बर्षीया शेर्मालाई डायलासिस मार्फत थप उपचारको प्रक्रिया अगाडी बढाइएको छ ।
एक साता अघि शेर्मालाई एक्कासी शरीरमा असहज भएपछि अस्पताल पुर्याइएको र डाक्टरहरुले किड्नी फेल भएको रिपोर्ट दिएको काग्रेसका नेता धर्मेन्द्रविक्रम नेम्बाङले जानकारी दिए ।अब डायलासिस मार्फत उपचार भइरहेको र सामान्य सुधार आउँदैछ । शनिबारसम्म उनि अस्पतालमै रहने बताइएको छ ।
इमान्दार र निष्ठावान नेताको पहिचान बनाएका शेर्मा नेपाली काँग्रेसको १२ औं र १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए।पाँचथर जिल्लाको पार्टी सभापति भइसकेका शेर्मा पहिलो संविधान सभाको निर्वाचनबाट सभासदमा निर्वाचित भएका थिए ।