प्रधानमन्त्रीको निर्देशन अनुसार खाल्डाखुल्डीहरु पुर्ने काम भैरहेको छ : मन्त्री बलायर
‘म १६ घण्टा काम गरिरहेको छु, मेरो स्पिरिटमा कर्मचारीले पनि कम गर्नुपर्छ’
प्रकाशित २०७४ साउन १३ शुक्रबार
450
Shares
काठमाडौं। भौतिक योजना तथा यातायातमन्त्री विरबहादुर बलायरले अबदेखि सडकमा खाल्डाखुल्डीहरुको सास्ती सर्वसाधारणहरुले भोग्न नपर्ने बताएका छन् । उनले भने,‘सडकका खाल्डाखुल्डीहरु पुर्नको लागि प्रधानमन्त्री शेरबहादुर देउवाजीले निर्देशन दिएपछि अहिले धमाधम काम भैरहेको छ, मैले पनि मन्त्रालयमा आउनेवित्तिकै सम्बन्धित निकायलाई यसबारेमा निर्देशन दिईसकेको छु, खासमा भन्ने हो भने यो कामको लागि प्रधानमन्त्रीले निर्देशन दिइरहनुपर्ने थिएन, यो अत्यन्त दुःखदायी कुरा हो, कसले यो काम गर्ने हो भन्ने कुरा मलाई राम्रोसँग थाहा छ, निर्देशन दिईसकेकोछु।’’
शुक्रबार रिपोर्टर्स क्लब नेपालको कार्यक्रममा बोल्दै नवनियुक्त मन्त्री बलायरले सडकका देखिएका खाल्डा खुल्डीहरुको बारेमा प्रधानमन्त्रीजस्तो व्यक्तिले बोल्नु नै बिडम्बना भएको स्पष्ट पारे । उनले भने, ‘खाल्डाखुल्डीहरु पुर्न भनेर प्रधानमन्त्रीले बोल्नु भनेको विडम्बना हो, तर प्रधानमन्त्रीले जनताले भोगेको सास्ती र समस्या देखेर यस्तो निर्देशन दिनुभएको ,उहाँको निर्देशन अनुसार अहिले धमाधम काम भैरहेको छ।’
कार्यक्रममा बोल्दै मन्त्री बलायरले मेलम्ची खानेपानी आयोजनाका कारणले काठमाडौंका सडकहरुमा खाल्डा खुल्डीहरु भएका र धुलाम्य भएको स्पष्ट पारे । उनले भने,‘अब यसको लागि पनि हामीले विकल्प सोचिसकेका छौं, सेगमेन्टवाईज अनुसार काम भैरहेको छ, अहिले नै खाल्डा खुल्डीहरु पुर्ने र यी समस्याहरु कसरी समाधान गर्ने भन्नेबारे गृहमन्त्रीसँगपनि छलफल भैरहेको छ।’
त्यस्तै उनले आफूले दैनिक १५ घण्टा काम गर्ने भनेर सार्वजनिक प्रतिबद्धता जनाएअनुसार पछिल्ला दुई दिनमै आफूले गरेको प्रतिबद्धता अनुसार त्यो भन्दापनि बढि नै १६ घण्टासम्म काम गरिसकेको दाबी गरे । बलायरले भने,‘अब मेरो स्पिरिटमा कर्मचारीले पनि काम गर्नुपर्छ।’