काठमाडौं। सामाजिक सञ्जालमा सधैंभरी सरकारी निकायका कर्मचारीहरुको आलोचना गर्ने सामाजिक सञ्जालमा आवद्ध युवाहरुले अब भने अरुको आलोचना गर्न भन्दा पनि आफैं केही गर्न सुरु गरेका छन्।
काठमाडौंका फोहोर सडकहरुमा आफैं निस्किएर शनिबार उनीहरुले नयाँ एवं उदाहरणीय कामको सुरुवात गरेका हुन्। विहानै पुरानो बानेश्वरमा जम्मा भएका युवाहरुले मैतिदेवीसम्मको सडक सफा गरेका थिए। विभिन्न संघसंस्था मार्फत् प्रत्येक शनिबार वाग्मति सफाइ अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गरिरहेको बेला ‘जाग्यो नेपाल ‘ नामक समाजिक अभियानको नामबाट युवाहरु शहरको भित्रीभागमा सफाईको लागि उत्रिएका हुन्।
अभियानका संयोजक विजय कँडेलले यो अभियान प्रत्येक शनिबार सञ्चालन गरिने बताए। उनले अभियान विशेषगरी सडक र सडकपेटिका फोहोरलाई संकलन गरेर त्यसलाई व्यवस्थित गर्न फेसबुक प्रयोगकर्ताहरुलाई नै प्रोत्साहित गरिएको बताए।