काठमाडौं । छुट्टै गोर्खाल्याण्डको माग राखेर दार्जिलिङमा भइरहेको आन्दोलनमा फेरि एक प्रदर्शनकारी मारिएका छन् । शनिबार विहान निकालिएको खुकुरी जुलुसमा सुरक्षाकर्मीले हस्तक्षेप गर्दा झडप भयो । झडपमा प्रहरीले गोली चलाउँदा एक प्रदर्शनकारीको मृत्यु भएको हो ।
प्रहरीको गोली लागेर १२ बढी आन्दोलनकारी घाइते भएका छन् । घाइते भएका मध्ये अजय क्षत्रीको मृत्यु भएको हो । टाउकोमा गोली लागेका क्षत्रीको सिलिगुडीमा उपचारका क्रममा मृत्यु भएको गोर्खा जनमुक्ति मोर्चाले जनाएको छ । क्षत्रीको मृत्यु भएसँगै गोर्खाल्यान्ड संघर्षमा मृत्यु हुनेको संख्या १० पुगेको छ ।
तीनधारे, गाडीधुरालगायतका क्षेत्रबाट निस्किएको खुकुरी जुलुसलाई सुरक्षाकर्मीले दार्जिलिङको प्रवेशद्धार सुकुनामा हस्तक्षेप गरेको थियो । आन्दोलनकारीले निषेधित घेरा तोडेर अघि बढ्न खोजेपछि प्रहरीले गोली वर्षाएको थियो ।
पश्चिम बंगाल सरकारले दार्जिलिङमा पनि बंगाली भाषा अनिवार्य गरेपछि जबरजस्ती भाषा लादेको निर्णय फिर्ता लिन भन्दै सुरु भएको आन्दोलन अहिले छुट्टै गोर्खाल्याण्डको संघर्षमा परिणत भएको छ ।