arrow

पहिरोको कारण पूरै गाउँ विस्थापित हुन सक्ने

logo
प्रकाशित २०७४ साउन १५ आइतबार
dokdekedar_baitadi.png

बैतडी । दोगडाकेदार गाउँपालिका वडा नं ६ सित्तडको डोलमा पहिराका कारण पूरै गाउँ विस्थापित हुने अवस्थामा पुगेको छ । 

लगातारको वर्षाका कारण सो ठाउँका करिब १५० परिवार पहिराको जोखिममा रहेको स्थानीयवासी लोकेन्द्रबहादुर चन्दले जानकारी दिए । विसं २०१८ देखि शुरु भएको पहिराले नौ जनाको ज्यान लिएको तथा २०० रोपनी खेत बगाइसकेको छ । अहिले पनि पहिराले खेत बगाउने क्रम जारी रहेको छ । 

वर्ष वर्षात् शुरु भएसँगै स्थानीयवासी लोगसिंह भाटको परिवार  जोखिममा परेको छ । घरको तलतिर पहिराले सबै आँगन बगाएपछि अहिले भाट परिवारको बिचल्ली भएको छ । पहिराले पानीघट्ट र सूर्य पन्त प्राविको खानेपानी ट्यांकी समेत बगाइसकेको छ । पहिराले धेरैको उठीबास गरिसकेको छ । आर्थिक अवस्था राम्रो भएकाहरु बसाइँसराइ गरिसकेका छन् भने आर्थिक अवस्था कमजोर भएका जोखिममा बस्न बाध्य भएका छन् । जमिनभित्र कमेरोयुक्त माटो भएकाले वर्षेनी पहिराले घरखेत बगाउँदै आएको छ । 
जोखिममा दुई विद्यालय 

 लटिनाथ आधारभूत विद्यालय मेलथला र सूर्य पन्त आधारभूत विद्यालय डोल समेत पहिराको जोखिममा परेका छन् । लगातारको वर्षाले पहिरो आउन थालेपछि विद्यालय पहिराको जोखिममा परेको दोगडाकेदार६ वडा कार्यालयका प्राविधिक लोकेन्द्रबहादुर चन्दले जानकारी दिए । विद्यालयसमेत पहिराको जोखिममा परेपछि स्थानीय बासिन्दा चिन्तित बनेका छन् । 

लगातारको वर्षाले गौकुराका मदनसिंह भण्डारीको घर आधा चर्र्किएको छ । पहिराका कारण नै गाउँ नै विस्थापित हुने अवस्थामा पुगेको स्थानीयवासी भूपेन्द्र भण्डारीले जानकारी दिए ।  शनिबार राति आएको वर्षाले पुर्चौडी नगरपालिका वडा नं ३ मा पहिरो जाँदा हर्क धामी र काशी धामीको घर जोखिममा परेका छन् । काशी धामीको घरमा पहिरो आउँदा गोठभित्र रहेका पशुचौपायालाई बाहिर निकाल्न नसकिएको वडाध्यक्ष दलबहादुर धामीले जानकारी दिए । मान्छे घरबाट बाहिर निस्कन सके पनि पशुचौपाया गोठमै थुनिएका छन् । 

अहिले हर्क र काशी आफ्नो घर छाडेर आफन्तका घरमा बसिरहेका छन् । पहिराले शंकर धानुक, हर्क धामीको खेत पनि पुरिदिएको छ । पहिराले बारीमा खेत नै बगाइदिएपछि झनै समस्या भएको उनीहरुले बताएका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ