प्रमुख आयुक्त भन्छन्–प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकै पटक गर्न सकिदैन
संविधान र कानुन नै बाधक
प्रकाशित २०७४ साउन १५ आइतबार
231
Shares
काठमाडौ । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकै पटक गर्न नमिल्ने बताएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले संविधान, कानुन तथा निर्वाचनको व्यवस्थापकीय र प्राविधिक दृष्टिकोणले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकैपटक गर्ने अवस्था नरहेको प्रष्ट्याएका हुन् ।
आईतबार बसेको व्यवस्थापिका संसद सुशासन तथा अनुगमन समितिको बैठकमा प्रमुख आयुक्त यादवले दुवै निर्वाचन एकै पटक गर्न नसकिने बताएका हुन् । सरकारले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन एकैपटक गर्ने तयारी गरिरहेको छ, भने सरकारलाई बल पुग्ने गरी प्रमुख विपक्षी एमालेले समेत एकै पटक निर्वाचन गर्नु पर्ने धारणा राखेको छ । तर, निर्वाचन आयोगले भने संविधान र कानुन अनुसार त्यसाे गर्न नमिल्नेतर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रमुख निर्वाचन आयुक्त यादवले संविधानमा प्रदेशसभाको निर्वाचन नभई राष्ट्रियसभा निर्वाचन गराउन नमिल्ने भएकाले पहिले प्रदेश सभाको निर्वाचन गर्नु पर्ने बताए । निर्वाचन आयोगले यसअघि नै असोज अन्तिम साता प्रदेश सभाको, कार्तिकको तेस्रो साता राष्ट्रिय सभाको र मंसिर पहिलो साता प्रतिनिधिसभा निर्वाचन गर्नेगरी तयार पारेको कार्यतालिका सरकारलाई बुझाई सकेको छ । प्रमुख निर्वाचन आयुक्त यादवले आगामी माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गराउन सरकार प्रतिवद्ध रहेको पनि दोहोर्याए ।
प्रमुख निर्वाचन आयुक्त यादवले स्थानीय तह तेस्रो चरणको निर्वाचनको तयारीको कामलाई तीव्रता दिइएको पनि सुनाए । असोज २ गते प्रदेश नम्बर २ मा स्थानीय तह तेस्रो चरणको निर्वाचन हुँदैछ ।
प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनका लागि भदौ ७ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय र भदौ १२ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने जानकारी दिए । निर्वाचन आयोगले भदौ २१ गते उम्मेदवार मनोनयन हुने गरी स्थानीय तह तेस्रो चरणको निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । निर्वाचन सामग्री खरिद प्रक्रिया सार्वजनिक खरिद ऐन अनुसार गरिएको प्रमुख आयुक्त यादवको भनाई छ ।