पार्टीको निर्णयअनुसार परिचालित हुन काँग्रेस नेता केसीको निर्देशन
प्रकाशित २०७४ साउन १६ सोमबार
337
Shares
रत्ननगर (चितवन)। नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले चितवनको भरतपुर महानगरपालिका वडा नं १९को चुनावी प्रक्रियामा पार्टीको निर्णयअनुसार अघि बढ्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
चितवनको भरतपुर विमानस्थलमा नेपाल प्रेस युनियन चितवन शाखले सोमबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले पार्टीको निर्णयअनुसार कार्यकर्तालाई परिचालित हुन भनेका हुन् । नेता केसीले लोकतान्त्रिक पार्टीमा केही मतभेदहरु हुने भए पनि पार्टीको संस्थागत निर्णय अनुसार सबै चल्नुपर्ने धारणा व्यक्त गरे।
व्यक्तिगत भेटघाटको सिलसिलामा चितवन आएका उनले पत्रकार सामु भने, “भर्खरै सर्वोच्च अदालतको निर्णय आएको छ, सो निर्णयलाई सबैले शिरोधार्य गरेर अघि बढ्नुपर्छ, नेपाली काँग्रेस स्वतन्त्र न्यायपालिकाको पक्षमा छ ।”
नेता केसीले एमालेलाई सहजीकरण गर्न र माओवादीलाई शान्तिपूर्ण तथा लोकतान्त्रिक प्रक्रियामा ल्याउन काँग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि बताए ।
पार्टी भित्रको कमजोरीलाई विश्लेषण गरेर सुधार्नुपर्ने, स्थानीय निकायको निर्वाचनको परिणामलाई चिन्तन गरेर अगाडि बढ्न सक्नुपर्ने र अझै दुईवटा निर्वाचन बाँकी रहेकाले पार्टीको एकता मजबुत पार्नुपर्नेमा नेता केसीले जोड दिए । रासस