arrow

मदिरा र जुवातास बन्द गराउन महिला आन्दोलित

logo
प्रकाशित २०७४ साउन १७ मंगलबार
Baitadi_District.png

बैतडी । मदिरा र जुवातासले महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनामा वृद्धि हुन थालेपछि बैतडीका महिला मदिरा नियन्त्रण गर्ने अभियानमा जुटेका छन् । 

मदिरा र जुवातासले गाउँमा महिला हिंसाका घटना बढेको भन्दै मदिरा बेचबिखन बन्द गर्नुपर्ने माग राख्दै बैतडीको दोगडाकेदार–३ श्रीकोटका महिला आन्दोलित भएका छन् । 

मदिरा र जुवातासले महिला तथा बालबालिकामाथि हुने हिंसामा वृद्धि हुन थालेको भन्दै संघर्ष समिति गठन गरी आन्दोलित भएका हुन् । 

लक्ष्मी ओडको अध्यक्षतामा महिला जागरण उत्थान समूह गठन गरेर सोमबार डाङ, खोचलेक, सिल्लेगडा हुँदै घोडेधारसम्म नाराजुलुससहित मदिरा र जुवातास बन्द गर्नुपर्ने माग गरेका हुन् । 

करिब २०० भन्दा बढी महिलाले दोगडाकेदार–३ श्रीकोटको वडा कार्यालय पनि घेराउ गरेको समूहकी अध्यक्ष लक्ष्मी ओडले जानकारी दिइन् । 

सोमबार पहिलोे दिन नाराजुलुससहित वडा कार्यालय घेराउ गरेको र आज वडा कार्यालयमा मदिरा तथा जुवातास बन्द गर्नुपर्ने भनेर ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको उनले बताइन् । 

आफूहरुले राखेको मागको सम्बोधन नभए जस्तोसुकै आन्दोलन गर्न तयार रहेको समेत श्रीकोटका महिलाले बताएका छन् । 

दोगडाकेदार गाउँपालिका वडा नं ३ की महिला वडा सदस्य हेमा कपाडी (भट्ट)ले महिलाका मागमा ऐक्यबद्घता जनाउँदै यसको अन्त्य हुनुपर्ने बताइन् ।  

मदिरा तथा जुवातासले महिलामाथि हिंसा बढ्दै गएकाले महिलाका मागलाई आफूले सकारात्मकरुपमा लिएको दोगडाकेदार–३ श्रीकोटका वडाध्यक्ष चन्द्रदेव जोशीले बताए । महिलाका मागलाई सम्बोधन गर्न तयार रहेको समेत वडाध्यक्ष जोशीले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ