arrow

डब्ल्युटिओमा कतारको उजुरी

logo
प्रकाशित २०७४ साउन १७ मंगलबार

दोहा । कतारले गल्फ राष्ट्रहरुका बिरुद्ध विश्व ब्यापार सङ्गठन, (डब्ल्युटिओ) मा  आफ्नो ब्यापारमाथि हस्तक्षेप गरेको र आफ्ना उत्पादनलाई बाहिरी बजारसँग पहूँच नदिई कब्जा गरेको भन्दै  उजुरी गरेको छ । 

कतारका छिमेकी अरब देशहरुले नै उसमाथि नाकाबन्दी लगाएका छन् । कतारमाथि छिमेकी गल्फ देशले गत जुन ५ देखि नाकाबन्दी लगाई कतारको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा जान दिएका छैनन् । 

सुरुमा कतारमाथि अकस्मात कूटनीतिक सम्बन्ध विच्छेदको घोषणा गरेका ती देशले गएको करिब दुई महिनायतादेखि कतारमाथि नाकाबन्दी लगाएका छन् भने कतार एयरवेजलाई गल्फमा उडान भर्न पनि दिएका छैनन् ।    

साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, बहराइन र इजिप्टले कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेद गर्नुको साथै नाकाबन्दी लगाएपछि आफूमाथि अन्याय भएको भन्दै कतारले सो उजुरी दिएको बताइएको छ । उनीहरुले कतारसँगको सम्बन्धलाई पुरानै अवस्थामा ल्याउन विभिन्न शर्त पनि राखेका भए पनि कतारले भने ती कुनै पनि शर्त मान्न तयार नभएको अडान राखी आएको छ । 

कतारको अर्थ तथा बाणिज्य मन्त्रालयले मङ्गलबार सो जानकारी दिएको हो । उसले भनेको छ ‘हामीमाथि आर्थिक रुपमा पनि अन्याय भएको छ, हाम्रा उत्पादनहरुलाई बाहिरी बजारसँग पहूँचको सट्टा कब्जा नै गरिएको छ, त्यसैले हामी विश्व ब्यापार सङ्गठनसँग यो विषयमा उजुरी गरेका छौँ ।’ 

साउदी अरब नेतृत्वको उक्त चार देशीय गठबन्धनले कतारमाथि विभिन्न शर्त राखेर जारी राखेको विरोधका कारण कतारलाई ठूलो आर्थिक क्षति पुगेको दाबी कतारले उक्त उजुरीमा गरेको छ ।  कूटनीतिक तनावको समाधानका लागि बहराइनमा आइतबार अरब राष्ट्रका विदेशमन्त्रीहरुको बैठक बसेको भए पनि कुनै निष्कर्ष भने निस्किएको छैन । 

कतारको टेलिभिजन अल जाजिरा बन्द गर्नुपर्ने र इरानसँगको कूटनीतिक सम्बन्ध तोड्नुपर्ने लगायतका १३ वटा शर्त सो गठबन्धनले राखेको छ । कतार समस्याको समाधानका लागि कुवेतले मध्यस्थता गरिरहेको छ । त्यस्तै टर्कीले पनि समाधानको पहल गरिरहेको बताएको छ । तर त्यो प्रभावकारी हुन सकिरहेको छैन । 

ती देशले कतारले इरानसँगको कूटनीतिक सम्बन्ध पनि तोड्नुपर्ने र कतारमा रहेको टर्कीको सैनिक पोष्ट हटाउनुपर्ने भनी राखेका शर्त मान्न कतार तयार नरहेको जानकारी यसअघि नै दिएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ