चुडामणि शर्मालाई पत्नीको रिटले अख्तियारबाट प्रहरी हिरासतमा सार्यो
प्रकाशित २०७४ साउन १७ मंगलबार
940
Shares
काठमाडौं । सर्वोच्च अदालतले रामशरण महत मन्त्री हुँदा गठन भएको कर फर्छ्यौट आयोगमार्फत व्यवसायीलाई मनोमानी कर मिनाहा गरेको अभियोग लागेका चुडामणि शर्मालाई न्यायिक हिरासतमा राख्न निर्देशन दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक शर्मालाई न्यायिक हिरासतमा राख्न सर्वोच्चले आदेश दिएको हो । शर्मा कर फर्छ्यौट आयोगको सदस्य सचिवकै हैसियतले हिनामिनामा मुछिएका हुन् ।
मंगलबार न्यायधीशहरू केदारप्रसाद चालिसे, दिपकराज जोशी, शारदाप्रसाद घिमिरे, दिपक कुमार कार्की, र अनिलकुमार सिन्हाको पूर्ण इजलाशले यो आदेश दिएको हो । शर्माकी पत्नीले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सर्वोच्चले यस्तो आदेश दिएको हो ।
अदालतको आदेशसँगै शर्मा अब प्रहरीको हिरासतमा रहने सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले बताए । राजश्व हिनामिना गरेको आरोपमा अख्तियारले शर्मालाई गएको जेठ १९ गते पक्राउ गरेको थियो । त्यसयता उनी अख्तियारकै हिरासतमा थिए । शर्माले अंक नै केरमेट गरेर राजश्व हिनामिना गरेकाे र मिति गुज्रिएपछि पनि पुरानै मिति राखेर काम गरेकाे अनुसन्धानका क्रममा खुलेकाे छ ।