arrow

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शुरु

logo
प्रकाशित २०७४ साउन १८ बुधबार
pokhara-airport.jpg.jpeg

पोखरा, १८ साउन । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शुरु भएको छ । 

विमानस्थलको निर्माण प्रक्रियाका सम्बन्धमा छलफल गर्न पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिको आयोजनामा बुधबार आयोजित बैठक एवम् स्थलगत अवलोकनका क्रममा चिनीयाँ निर्माण कम्पनी चाइना सिएएमसी इञ्जिनियरिङको अपरेशन लिमिटेडका एशिया प्यासिफिक डिभिजनका महाप्रबन्धक जेरी याङले सो कुरा जानकारी गराएका हुन् । 

उनले ६० कामदार र अन्य प्राविधिक गरी हाल ११० जना व्यक्ति निर्माण प्रक्रियामा संलग्न रहेको जानकारी दिँदै शाखा कार्यालय, अस्थायी शिविर आदिको निर्माण कार्य थालिसकिएको बताए । निर्माण कार्यको औपचारिक शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देवले विमानस्थल पर्यटन विकासको महत्वपूर्ण आधार रहेको बताएका छन्। 

पर्यटनको विकासका लागि हवाईका साथै सडक सञ्जाल पनि व्यवस्थित हुनुपर्ने बताउँदै उनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियासँगै हवाई मार्गका सम्बन्धमा पनि मन्त्रालयले काम अघि बढाउने उल्लेख गरे । विमानस्थल तयार भइसकेपछि तत्काल उपयोगमा आउने किसिमले हवाई मार्ग तयलगायतका विषय पनि सँगसँगै अघि बढ्नुपर्नेमा उनको जोड थियो । 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पोखरेली जनताको ४० वर्षभन्दा बढी समयदेखिको सपना भएको बताउँदै निर्माण कार्यको शुरुवात सम्पूर्ण पोखरेलीको गर्वको विषय भएको बताएका छन्। स्थानीय सर्वसाधारणसँग सरोकार राख्ने जग्गा अधिग्रहण, मुआब्जा वितरणलगायत विषयलाई समेत सम्बोधन गर्दै अघि बढिने बताउँदै उनले निर्माण कार्यलाई समयमा नै सम्पन्न गराउन सबैको सकारात्मक सहयोग अपरिहार्य हुने उल्लेख गरेका छन् । 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिका संयोजक एवम् व्यवस्थापिका संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले विमानस्थल निर्माणको पूर्वतयारीमा लामो समय खर्चिसकेको बताउँदै अब भने आगामी २०२१ जुलाई १० भित्र निर्माण कार्य सकिने जानकारी दिए। उनका अनुसार बैठकले पूर्वतयारीमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै चिनियाँ निर्माण कम्पनीको स्वागत गरेको छ । हाल निर्माणाधीन विमानस्थल नजिकै रहेको ल्याण्डफिडसाइडको व्यवस्थापन गर्न महानगरपालिकालाई र बाँकी जग्गा अधिग्रहणका सम्पूर्ण प्रक्रिया आगामी भदौ १५ भित्र सक्न प्रमुख जिल्ला अधिकारीलाई उनले आग्रह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ