धनराजले सोधे– कर फर्छ्यौटका लुम्बध्वज र उमेश राजनीतिक पछ्यौरी ओढेर कता भागे ?
प्रकाशित २०७४ साउन १८ बुधबार
353
Shares
काठमाडौँ । काँग्रेस सांसद धनराज गुरुङले कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालबारे कडा टिप्पणी गरेका छन् ।
व्यवस्थापिका संसदमा विशेष समय लिएर बोल्दै सांसद गुरुङले अध्यक्ष महत र सदस्य ढकाल राजनीतिक पछ्यौरी ओढेर भागेको टिप्पणी गरे ।
गुरुङले प्रश्न गर्दै भने, ‘राजनीतिक पछ्यौरी ओढेर उनीहरु कता भागे ? गुरुङले जुम्रा, जुका र किर्नालाई परजीवीका रुपमा चिनिए पनि नेपालका नेता, व्यापारी र कर्मचारी पनि परजीवी जस्तै भएको कटाक्ष गरे ।
नक्कली भ्याट विल बनाएर ठग्नेहरुमाथि छानविनको गर्नुको साटो ढाकछोप गरिएको बताउँदै उनले एनसेलबाट अरबौँ रुपैयाँ कर असुली गर्नु पर्नेमा उन्मुक्ति दिलाउन अधिक प्रयास भएको आरोप लगाए ।
उनले भने, ‘पनामा पेपर काण्डमा मुछिएपछि केही दिनअघि पाकिस्तानी प्रधानमन्त्रीले राजीनामा ठोके । त्यही कान्डमा मुछिएका नेपालका १३ उद्योगपति रव्यापारीका विषयमा किन छानविन भएन ? । अब त, दुनियाँका अगाडि मुख देखाउन लाज भो ।
यस्तै, आयल निगममा भएको भनिएको अनियमितताबारे समेत सांसद गुरुङले केही समय खर्चिए । उनले भने, ‘आयल निगममा त्यत्रो भ्रष्टाचार हुँदा कानमा तेल, आँखामा पट्टी बाँधेर बसेको देखियो । के नेपाली जनता अब भ्रष्टाचारीहरुले चुसेको ख्याउटे अनुहारमै बस्नु पर्ने हो ?’
सांसद गुरुङले कालोसूचीमा परेको गेजुवा कम्पनीलाई बूढीगण्डकी बनाउन ठेक्का दिइएकोमा समेत विरोध गरे ।
नेपाली उखान सुनाउँदै उनले भने, ‘काले काले मिलेर खाउँ भाले भएकै हो कि क्या हो? सत्तापक्ष र प्रतिपक्ष सबै चुप छन् त ! ।’ सांसद गुरुङले समसामयिक राजनीतिक विषयमा समेत शब्द खर्चिएका थिए ।