‘चाइना पाकिस्तान इकोनोमिक कोरिडोर’ कार्यान्वयनमा पाकिस्तान प्रतिबद्ध
प्रकाशित २०७४ साउन २० शुक्रबार
557
Shares
इस्लामावाद। पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री सहिद खक्वान अब्बासीले चीन पाकिस्तान आर्थिक कोरिडोर नामक आयोजनाको सकुशल कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताएका छन् ।
प्रधानमन्त्री अब्बासीले यस आयोजना अन्तर्गतका अरु सबै आयोजनाको सफल एवम् समयमै पूर्णता, कार्यान्वयन र सम्पन्नताका लागि आफैले निरीक्षण गरी अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेको समाचारमा जनाइएको छ । बिहीबार पाकिस्तानमा चिनियाँ राजदूतसँगको भेटवार्तापछि उनले भने ‘यस चीन पाकिस्तान आर्थिका कोरिडोरको माध्यमबाट हाम्रो आर्थिक क्रियाकलापमा पनि बृद्धि हुने र यसका माध्यमबाट देशको अर्थतन्त्रको विकासमा पनि सहयोग पुग्नेछ ।’
बिहीबार साँझ चिनियाँ राजदूत र पाकिस्तानी प्रधानमन्त्री अब्बासीबीच द्विपक्षीय भेटवार्ता भएको थियो । सो भेटवार्ताका क्रममा चिनियाँ राजदूतले चिनियाँ प्रधानमन्त्रीका तर्फबाट उनलाई बधाई पनि ज्ञापन गरेका थिए। बधाई सन्देशमा चिनियाँ प्रधानमन्त्रीले अब्बासीको नेतृत्वमा दुई देशको सम्बन्ध आगामी दिनमा थप सुमधुर बन्ने भन्दै उनीसँग मिलेर काम गर्न चीन तत्पर रहेको जानकारी गराएका थिए ।
भेटका क्रममा चिनियाँ राजदूतले गएको करिब चार बर्षयता चीन र पाकिस्तानबीचको सम्बन्ध थप सुदृढ भई नयाँ उचाईमा पुगेको भन्दै आगामी दिनमा पनि यो सम्बन्धले निरन्तरता पाउने धारणा राखेका थिए ।
पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री अब्बासीलाई चीन सरकारका तर्फबाट बधाई ज्ञापन गर्न चिनियाँ राजदूतले प्रधानमन्त्रीलाई भेटेका हुन् । सिन्ह्वा