चार बालिकाको मृत्यु घटनामाथि आयोगले थाल्यो अनुसन्धान
प्रकाशित २०७४ साउन २२ आइतबार
327
Shares
काठमाडौं । रौतहट जिल्लाको गरुडा न.पा. वडा नं. ४, गौर चन्द्रनिगाहपुर सडक खण्ड छेउको खाल्डोमा डुबी एकै परिवारका ४ जनाको ज्यान भएको विषयमा नेपाल मानवअधिकार आयोगले अनुसन्धान सुरु गरेको छ ।
शनिवार चार जना बालिकाको मृत्यु भएको घटनाका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले स्वविवेकमा उजुरी ग्रहण गरी छानवीन प्रारम्भ गरेको आयोगका सचिव वेदप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । उक्त घटनाको सम्बन्धमा आयोगको गम्भीर ध्यानाकर्षण भएको समेत विज्ञप्तीमा उल्लेख छ ।घटनाको अनुसन्धानका लागि क्षेत्रीय कार्यालय जनकपुरबाट एक अनुसन्धान टोली घटनास्थलतर्फ आजै खटाइएको आयोगले जनाएको छ ।
‘आम नागरिकको विकासको अधिकारलाई सुनिश्चत र कार्यान्वयन गर्दा सरकारले मानव अधिकार विकास पद्धतिको अबलम्बन गरी आम नागरिक र विशेष गरी बालवालिका, महिला, बृद्ध, अपांगता भएका व्यक्तिको जीवनको अधिकारको संरक्षण गरिनु पर्ने कुरामा सरकार जिम्मेवार रहनुपर्ने आयोग स्मरण गराउन चाहन्छ ।’ विज्ञप्तीमा भनिएको छ ‘ साथै सार्वजनिक निर्माणको क्रममा निर्माण कम्पनीहरूबाट हुने गरेको लापरवाही र सरकारी निकायको उदासिनताको कारण व्यक्तिले जीवनको अधिकार नै गुमाउनु पर्ने अवस्था सृजना हुनु अत्यन्त दुःखद स्थिति हो ।’
भविष्यमा यस्ता लापरवाहीपूर्ण कार्य हुननदिन नेपाल सरकार जिम्मेवार रहनु पर्दछ भन्ने आयोगको निष्कर्ष छ ।