पाँचथर । निर्माणधिन तल्लो हेंवा जलबिद्युत आयोजनाको सुरुङमा अविरल वर्षासँगै आएको बाढी पस्दा कृषकको २८ रोपनी खेत बगाएको छ । वाढीले फिदिम नगरपालिका–४, का दिलकुमार यक्पाङदेन र हिलिहाङ गाउँपालिका–७, का लक्ष्मीकुमार तामाङको खेत बगाएको हो ।
गएराती आएको बाढी सुरुङमा पस्दा दुई किसानको त्यतिका परिणामको खेल बगाएको हो । सुरुङमा पसेको बाढीले जलबिद्युत आयोजनाको अडिट एरिया देखि सिधै मुनि रहेको यक्पाङदेनको मात्र करीब २१ रोपनी खेत बगाएको उनले बताए । खोला पारि रहेको तामाङको खेत भने यक्पाङदेनको खेत बगाएर हेंवा खोला थुनिए पछि बगाएको पीडितले बताएका छन् ।
भर्खरै धान रोपेको खेत बगाएपछि यक्पाङदेन र तामाङ चिन्तित बनेका छन् । उनीहरुले आयोजना निर्माण कम्पनि माउन्टेन हाइड्रोले आफूहरुलाई क्षतिपूर्ति दिनुपर्ने वताए । पीडित यक्पाङदेनले भने,“हाम्रो वर्षभरी खाने खेत नै लग्यो,अव के खाएर बाच्नु?,”।
यसैबीच रानीटार र लुङरुपाको सीमाना भएर बग्ने आप्पा खोलामा रहेको मुहानमा बाढी पस्दा फिदिम बासी धमिलो पानी पिउन वाध्य छन् । यस्तै गएराती परेको अविरल वर्षाले पाँचथरको फिदिम नगरपालिका स्थित नाम्दुखोलामा लगाएको सडक पुल बगाउँदा रानीटार र लुङरुपा जान तथा उता बाट यता सदरमुकाम फिदिम तिर आउन नसकिने भएको स्थानिय बिरेन्द्र बास्कोटाले बताए ।