arrow

हिरोसिमा र नागासाकी जस्ता नरसंहार कहिलै दोहोरिदैनःताउ

logo
प्रकाशित २०७४ साउन २५ बुधबार
japan1.jpg

टोक्यो । सन् १९४५ मा जापानको नागासाकीमा अमेरिकाले एटम बम खसाली दशौँ हजार नागरिकको ज्यान लिएको बुधबार ७२ बर्ष पुगेको दुःखद स्मरण गरिएको छ । 

जापानको नागासाकीमा सन् १९४५ को अगष्ट ९ मा एटमिक बमको आक्रमणबाट भएको नरसंहारको बुधबार सो नगरमा विशेष समारोहको आयोजना गरी स्मरण गरिएको समाचारमा जनाइएको छ । यसअघि गत आइतबार अर्थात् अगष्ट ६ मा हिरोसीमा नगरमा पनि जम्मा भएका दशौँ हजारको सङ्ख्याका नागरिकले सो आक्रमणको स्मरणगर्दै त्यस नरसंहारमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । 

दोस्रो विश्व युद्धका समयमा अमेरिकाबाट हिरोसिमामा भएको त्यस हमलामा परी कम्तीमा पनि एक लाख ४० हजार नागरिकको ज्यान गएको थियो । त्यस्तै नागासाकीमा भएको बम आक्रमणमा परी ज्यान जानेको सङ्ख्या ७५ हजार रहेको बताइएको छ । एटम बमको विकीरणका कारण घटनास्थलमा नै ती नागरिकको ज्यान गएको थियो भने अरु कैयौँ घाइते भएर बाँचेका थिए । उनीहरुले  पछिसम्म पनि स्वास्थ्य र शारीरिक जटिलताको समस्या झेलेर बसेका थिए । 

नागासाकी र हिरोसिमामा भएको ती बम हमलाको ७२ वर्ष पूरा भएको छ । नागासाकी नगरमा बम खसालिएको स्थानमा प्रत्येक वर्ष आजकै दिन दशौँ हजार नागरिक जम्मा हुन्छन् र शान्तिको कामना गर्ने गर्दछन् । हिरोसीमामा जस्तै नागासाकीमा पनि बम खसालिएको स्थानमा शान्ति स्तुपा निर्माण गरिएको छ । उक्त स्तुपामा जम्मा भएका नागरिकले संसारमा फेरि यस्तो कहिल्यै नहोस भनेर कामना गर्ने गर्दछन् । हिरोसिमा र नागासाकीमा भएको हमलामा जीवित रहेका केही नागरिक अहिले पनि छन् । उनीहरु पनि आजको उक्त वार्षिकी कार्यक्रममा उपस्थित भएर आफ्ना अनुभव व्यक्त गर्ने गर्छन् । 

सो वार्षिकीमा बुधबार नागासाकीमा दशौँ हजार नागरिक जम्मा भएका छन् । त्यहाँ संसारका अरु देशका प्रतिनिधि पनि जाने गर्दछन् । सो समारोहलाई बुधबार सम्बोधन गर्दै नागासाकी नगरका मेयर तोमिहिसा ताउले भने बमरहित संसारको निर्माण जापानको मुख्य उद्देश्य हुनुपर्छ र त्यसका लागि हामी जेजस्तो संघर्ष पनि गर्नुपर्छ । 

परमाणु हतियारको उत्पादनमा निषेध गर्ने विश्वव्यापी नीतिमा जापानले अगुवाई गर्नुपर्ने उनको धारणा थियो । उनले शान्तिका लागि संसारले कामना गर्न सकेमात्र अब फेरि हिरोसिमा र नागासाकी जस्ता नरसंहार नदोहोरिने स्पष्ट गरेको समाचारमा जनाइएको छ । सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ