मानव अधिकार आयोगले भन्यो–बाढी र पहिरोले ६५ को मृत्यु, ३६ बेपत्ता
प्रकाशित २०७४ साउन २९ आइतबार
397
Shares
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बाढी तथा पहिरोबाट देशका विभिन्न स्थानमा अहिलेसम्म ६५ जनाको मृत्यु भएको जनाएको छ ।
मानवअधिकार आयोग, गृहमन्त्रालय लगायत विभिन्न निकयबाट आएको विवरणमा अहिलेसम्म बाढी, पहिरो र डुबानमा परेर ४४ जना घाइते भएका छन् भने ३६ जना अझै हराइरहेका छन् । सबै भन्दा बढी अहिले सम्म रौतहटमा १० जनको मृत्यु भएको खबर आएको छ । यस्तै सुनसरीमा ९ जनाको मृत्यु भएको छ । मकवानपुरमा समेत एकै परिवारका सातसहित १० जनाको मृत्यु भएको छ ।
विवरण अनुसार १९ हजार घरपरिवार विस्थापित भएका छन् । ७ सय २८ घरहरु पूर्णरुपमा क्षति भएका तथा २ हजार १ सय ५३ घरमा आंशिक क्षति भएको मानवअधिकार आयोगले जनाएको छ । बाढी, पहिरो तथा डुबानपछि उत्पन्न परिस्थितिप्रति आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल राहत, उद्धारको लागि प्रभावकारी कार्य भएको भन्दै चिन्ता गरेको छ ।
प्राकृतिक प्रकोपपछि देखा पर्न सक्ने सरुवा रोगको प्रकोपको खतराबाट बच्न औषधि र चिकित्सकहरुलाई तयारी अवस्थामा राख्न, बाढी, पहिरो तथा डुबानबाट थप जनधनको क्षति हुन नदिन, पूर्व सावधानी अपनाउन, जोखिममा परेका सुत्केरी महिला, बालबालिका, जेष्ठ नागरिक तथा असहाय व्यक्तिलाई आवश्यकता अनुसार खोज, उद्धार र राहत कार्यमा अविलम्ब लाग्न आयोगले सबैलाई भनेको छ ।