सरकारकै मन्त्री बाढी प्रभावित क्षेत्रमा पुगेर भन्छन् ‘राहत निकै सुस्त भयो’
प्रकाशित २०७४ साउन ३१ मंगलबार
255
Shares
काठमाडौं । सहरी विकास मन्त्री प्रभु साहले बाढीपीडितहरुका लागि यतिका दिनसम्म सरकारी र वाह्य सहयोग उपलब्ध नभए तापनि स्थानीय जनताकै पहलमा घरबार विहिन पीडितलाई बचाईराख्नु असाध्यै सराहनीय भएको बताएका छन् । सरकारको तर्फबाट रौतहट र सर्लाहीका लागि खटिएका मन्त्री साहले सोमबार स्थलगत अबलोकन भ्रमणका क्रममा यस्तो बताएका हुन् । मन्त्री साह नेपाली कांग्रेस र नेकपा एमालेका संसद सहित सोमबार रौतहट र सर्लाही पुगेका हुन् ।
बाढीले जनताको विचल्ली भइरहेको अवस्थामा पनि राज्यको उपस्थिति न्यून रहनु दुर्भाग्यपूर्ण भएको उनको भनाई रहेको थियो । ‘यतिका दिनसम्म एक दाना सरकारी राहत समेत पीडितले पाउन नसक्नु दुर्भाग्यपूर्ण हो’, मन्त्री साहले भने, ‘सरकारको ढीलासुस्तीका बाबजुद पीडित स्वयंले एक अर्कालाई गरेको सहयोग गौरवपूर्ण छ ।’
पीडितहरुले एकअर्कालाई गरेको सहयोगको सराहना गरे मन्त्री साहले भने ‘आफ्नो घर पुरै डुबीरहेको छ, तैपनी अर्कोलाई सहयोग गरिरहनु भएको छ, यो धेरै सराहनीय कार्य हो ।’ उनले सिधै राहत उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीलाई मन्त्रीपरिषदले अधिकार दिइसकेकाले स्थानीय बजारबाट आपूर्ति गरी तुरुन्तै राहतको व्यवस्था मिलाउन निर्देशन दिए ।
‘
बाढी र डुबानका कारण पूरै तराई प्रभावित भएको छ त्यसमा पनि रौतहटको स्थिति अझै भयावह छ ।’ मन्त्री साहको भनाई रहेको थियो । उनले स्थानीय सरकारी अधिकारीलाई भौतिक पूर्वाधारको स्थिति खास गरी नदि कटान र सडक यातायातलाई विशेष ध्यानमा राखेर कार्य अगाडि बढाउन निर्देशन दिए ।
बाढी प्रभावित क्षेत्रको स्थिति बुझ्न र राहत वितरणलाई थप प्रभावकारी बनाउने उद्देश्यले आफू आएको बताउँदै उनले सरकारले तत्काल पीडितहरुलाई उद्धार, राहत र सुरक्षित आवासको व्यवस्था गर्ने र क्षतिको यकिन विवरण प्राप्त भएपछि त्यसको विशेष सम्बोधन हुने उनको भनाई रहेको थियो ।