- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नयाँ दिल्ली । भारतमा मङ्गलबार स्वतन्त्रता दिवस मनाइँदै छ । भारतमा विशेष कार्यक्रमका साथ मङ्गलबार स्वतन्त्रता दिवस मनाइएको बताइएको छ ।
यस अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लामा सम्बोधन गरेका छन् । स्वतन्त्रता दिवस मनाउन लाल किल्लामा हजारौँ भारतीय नागरिक जम्मा भएका छन् । उनीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारतको प्रमुख प्राथमिकता सुरक्षा हो भने । उनले नागरिकको सुरक्षाका लागि वर्तमान सरकार सबैभन्दा बढी चिन्तित रहेको बताए । उनले भारतको विपक्षमा लाग्ने र भारतीय भूमिमा असुरक्षा मच्चाउन प्रयास गर्ने जो सुकै विदेशी होस वा स्वदेशीलाई पनि भारतले नछोड्ने बताएका थिए । त्यस्तो शक्तिका विरुद्धमा लडन् भारत पूरै सक्षम रहेको उनले बताए ।
भारतका मिडियाहरुले चीन र भारतका बीचमा पछिल्लो समयमा सीमा क्षेत्रमा तनाव बढिरहेको भनिएका बेला उनको यो अभिव्यक्ति आएको भनी टिप्पणी गरेका छन् । भारतले आज आफ्नो ७० औँ स्वतन्त्रता दिवस मनाउन लागेको हो । यसका लागि भारतका विभिन्न क्षेत्रको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको समाचारमा जनाइएको छ ।
समुद्र होस वा सीमा, साइबर होस वा अन्तरिक्ष जुनसुकै हिसाबले पनि हामी सक्षम छौँ र जुनसुकैका विरुद्धमा पनि हामी लडन् सक्छौँ– उनले सो सम्बोधनका क्रममा भने । उनको यस अभिव्यक्तिलाई हाल चीनसँग भएको भनिएको विवादका बीच दिएको र उक्त सम्बोधन चीनतर्फ पन लक्षित रहेको अर्थ लगाएका केही विश्लेषकहरुको दाबी छ ।
पाकिस्तानसँग पनि सन् १९४७ देखि नै भारतको सीमा विवाद रही आएको छ । जसका कारण पाकिस्तानसँग पनि भारतले युद्ध गरिसकेको छ । भारतले पाकिस्तानलाई आतङ्ककारीहरु आफ्नो देशतर्फ पठाएको आरोप लगाउने गरेको छ । तर यसलाई पाकिस्तानले भने स्वीकारेको छैन ।
भारतको स्वतन्त्रता दिवसका अवसरमा नयाँ दिल्लीमा कडा सुरक्षा व्यवस्था गरिएको समाचार छ । नयाँ दिल्लीका बस पार्कहरु, रेलमार्ग र स्टेसनहरु तथा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च सुरक्षा सतर्कतामा राखिएको भारतको नयाँ दिल्लीबाट विभिन्न सञ्चारमाध्यमहरुले जानाकारी दिएका छन् ।
नयाँ दिल्ली गेट वरिपरि लालकिल्लालगायतका क्षेत्रमा पनि सुरक्षाको कडा प्रबन्ध गरिएको छ । सो क्षेत्रबाट प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार सम्बोधन गर्ने कार्यक्रम रहेकोले उक्त क्षेत्रमा ध्यान दिइएको हो । प्रहरीको विशेष कमाण्डो फोर्सका साथै अन्य सुरक्षा निकायका अधिकारीलाई ती क्षेत्रमा उच्च सतर्कताका साथ खटाइएको र स्वतन्त्रता विशेष समारोहको समापन अर्थात आज रातिसम्म नै नयाँ दिल्लीमा यस्तो सुरक्षा व्यवस्था कायम रहने अधिकारीहरुले जनाएका छन् ।
भारत सन् १९४७ को अगष्ट १५ मा बेलायती शासनबाट स्वतन्त्र भएको थियो । बेलायती शासनबाट स्वतन्त्र भएको दिन अगष्ट १५ लाई भारतले स्वतन्त्रता दिवसका रुपमा मनाउदै आएको छ । भारतको अघिल्लो दिन अर्थात अगष्ट १४ मा पाकिस्तान पनि भारतबाट अलग्गिएर अलग्गै राष्ट्र बनेको थियो । पाकिस्तानले सोमबार नै स्वतन्त्रता दिवस मनाएको छ ।एएफपी