arrow

चिनियाँ उपप्रधानमन्त्रीलाई के–के सुनाए प्रचण्डले ?

logo
प्रकाशित २०७४ साउन ३१ मंगलबार
Prachand_g.jpg

काठमाडौं । माओवादी केन्द्र  र चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको प्रतिनिधिमण्डलबीच भेट वार्ता भएको छ । मंगलबार दिउँसो काठमाडौंको सोल्टी होटलमा भएको द्धीपक्षीय वार्तामा नेपाल–चीनको आपसी सद्भाव, पूर्वाधार विकास र नेपालमा चीनियाँ लगानीका विषयमा कुराकानी भयो ।

वार्तामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई देशबीचको सम्बन्ध अत्यन्त हार्दिक र मैत्रीपूर्ण रहेकोमा जोड दिँदै नेपाल र चीनलाई रेल मार्गबाट जोड्न नेपाल आतुर रहेको बताए । वार्तामा दाहालले नेपालको पूर्वाधार विकास, जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न चीनियाँ प्रतिनिधि मण्डललाई आग्रह गरे ।

चीन र नेपालबीच वान बेल्ट वान रोड (ओबिओआर)मा भएको हस्ताक्षर महत्वपूर्ण रहेको बताउँदै अध्यक्ष दाहालले माओवादी केन्द्र चीन र भारत दुवै छिमेकीसँग सन्तुलित र समदुरीको सम्बन्ध राख्न चाहेको जानकारी दिए ।

अध्यक्ष दाहालले प्रधानमन्त्री कालमा भएको आफ्नो चीन भ्रमण नेपाल र चीनको सम्बन्ध सुदृढीकरण र पूर्वाधार विकासका क्षेत्रमा महत्वपूर्ण रहेको बताए ।

नेपाल एक चीन नीतिको पक्षमा रहेको जानकारी गराउँदै अध्यक्ष दाहालले कुनै पनि छिमेकीका विरुद्ध नेपाली भूमि प्रयोग नहुने बताए ।  वार्तामा अध्यक्ष प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र चीनियाँ कम्युनिष्ट पार्टीबीच वैचारिक र भावनात्मक सम्बन्ध रहेको बताउँदै चीनियाँ कम्युनिष्ट पार्टीका अनुभवहरु माओवादी केन्द्रको राजनीतिक दिशाका लागि पनि महत्वपूर्ण रहेको बताए ।

भेट वार्तामा चीनियाँ उपप्रधानमन्त्री याङले चीनियाँ राष्ट्रपतिको सन्देश बोकेर आफू नेपाल आएको बताउँदै नेपालको पूर्वाधार विकास, जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा चीन लगानी गर्न ईच्छुक रहेको बताए । याङले ओबिओआर लगायत पछिल्लो समय नेपाल र चीनबीच भएका सम्झौताहरुले नेपाल–चीन सम्बन्धलाई थप उचाई दिएको बताउँदै नेपालको चासोंप्रति चीन सधैं सकारात्मक रहेको जानकारी दिए ।

बार्तामा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, कृष्णबहादुर महरा, देवप्रसाद गुरुङ, टोप बहादुर रायमाझी, मातृका यादव, अग्निप्रसाद सापकोटा, शक्ति बहादुर बस्नेत, पम्फा भूसाल, मणि थापा सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ