सोलुखुम्बु । पर्यटकीय क्षेत्र लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा मौसम खराबीका कारण गएको आठ दिनदेखि उडान प्रभावित हुँदा पर्यटक रोकिएका छन् । बाक्लो हुस्सु तथा लगातारको वर्षाका कारण बितेको आठ दिनयता उडान हुन नसकेको नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख बच्चुनारायण श्रेष्ठले जानकारी दिए। उडान हुन नसक्दा खुम्बु घुमेर फर्कन लागेका करिब एक सय पर्यटक लुक्लामा रोकिएको व्यवसायी छिरिङ शेर्पाले बताए।
तारा एयर लुक्लाका प्रमुख फुनुरु शेर्पाका अनुसार अहिले पर्यटक आउने मौसम भए पनि दैनिक चार÷पाँचवटा उडान हुने गरेकामा आठ दिनदेखि ठप्प भएको हो । लगातारको मौसम खराबीका कारण केही पर्यटक लुक्लाभन्दा केही तल सुर्केमा हेलिकाप्टर मगाएर त्यहाँबाट राजधानी फर्केका छन् भने केही फाप्लुतर्फ पैदल हिँडेका छन् ।
लुक्लाबाट फाप्लु पुग्न सामान्यतया पर्यटकका लागि तीन दिनभन्दा बढी पैदल हिँड्नुपर्छ । सो जिल्लाको अर्को विमानस्थल फाप्लुमा पनि करिब एक महिनायता उडान हुनसकेको छैन । फाप्लुबाट भने सडक यातायात सञ्चालनमा रहेकोले यात्रुले विकल्प पाइरहेका छन् । रासस