काठमाडौं । फ्लोरिकल्चर एशोसिएशन नेपालको रजत जयन्तीको अवसर पार्दै कृषि विकास मन्त्री राम कृष्ण यादबले वागमती किनारमा शनिबार वृक्षारोपण गरे । मन्त्री यादवले धार्मिक महत्व बोकेको रुद्राक्षको बिरुवा रोपेर फ्लोरिकल्चरको रजत जयन्ती महोत्सबको उद्घाटन गरेका हुन् ।
वृक्षारोपण कार्यक्रममा कृषि बिकास मन्त्री यादब, कृषि मन्त्रालयका सहसचिब शुरेश बाबु तिवारी, उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेश लाल श्रेष्ठ, प्लान्टेशन एक्सपर्ट राम दयाल प्रसाद यादब, राष्ट्रिय बनस्पति उद्यानका प्रमुख दिपक लामिछाने, पुष्प बिकास केन्द्रका प्रमुख द्रोण राज काफ्ले लगायतले बृक्षारोपण गरेका थिए । कोटेश्वर महादेवस्थान नजिक बागमती नदी किनारमा एक मिटर भन्दा अग्ला १ हजार बिरुवा रोपिएको फ्लोरिकल्चर एशोसिएशन नेपालका बरिष्ठ उपाध्यक्ष दिलिप बादेले बताए ।
फ्लोरिकल्चर एशोसिएशन २५ औं वर्षमा पुगेको अबसर पार्दै यो वर्ष भरी बिभिन्न कार्यक्रम गर्ने एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए । वर्ष भरी गरिने कार्यक्रमहरुमा वृक्षारोपण, पुष्पजन्य बस्तुको प्रयोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम, धोबी खोला तथा बागमती नदी किनारमा बोटबिरुवाको गोडमेल तथा सरसफाई कार्यक्रम, रक्तदान कार्यक्रम, फ्लोरिकल्चर क्षेत्रमा बिशिष्ट योगदान दिने ब्यक्ति तथा संघ संस्थालाइ सम्मान कार्यक्रम, रजत बर्ष स्मारिका प्रकाशन, फोटो प्रदर्शनी लगायत बिभिन्न गोष्ठी, तालिम तथा मेला प्रदर्शनी गरिने अध्यक्ष कसजुले जानकारी दिए ।
नेपाली रैथाने तथा धार्मिक महत्व बोकेका बोट बिरुवाहरु बृक्षारोपण गरिएको फ्यानका उपाध्यक्ष रामजी प्रसाद तिमिल्सेनाले बताए ।