arrow

राप्रपाले संविधान संशोधनको पक्षमा मतदान नगर्ने, सत्ताधारीले पार्टी फुटाएको आरोप

logo
प्रकाशित २०७४ भदौ ४ आइतबार
RPP_new_.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संसदमा छलफल भइरहेको  संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । हेटौडामा आइतबार सकिएको पार्टी केन्द्रीय समितिको विशेष बैठकले संविधान संशोधनको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रवक्ता सुशील श्रेष्ठले जानकारी दिए ।

संसदमा छलफलमा रहेको संविधान संशोधन विधेयकले मधेस र मधेसी जनताको हक, हित र समस्यालाई सम्बोधन गर्न नसक्ने, मधेस केन्द्रीत  राजनीतिक दलहरुले विधेयक पारित नभएपनि चुनावमा भाग लिने प्रतिवद्धता जनाएको, विधेयक पारित गराउनेबारे स्वयं सत्तारुढ दल, सरकार र राजपासमेत गम्भीर नरहेको राप्रपाको निष्कर्ष छ ।

राप्रपाले मधेसका जनताको हक, हित र पहिचानको संरक्षण एवं मधेसको समग्र विकासमा सदैव प्रतिवद्ध रहेको उल्लेख गरेको छ । राप्रपाले आफ्नोतर्फबाट संसदमा पेश भएको हिन्दुराष्ट्र पुनःस्थापनासम्बन्धी संशोधन विधेयक छलफलमा नल्याइएको र राप्रपालाई विभाजन गर्ने कार्यमा सरकार तथा सत्तारुढ दलहरुकै हात रहेकाको आरोप लगाएको छ ।

राप्रपा विभाजनमा सरकारको हात रहेको भन्दै राप्रपाले षड्यन्त्रकारीहरुलाई नसघाउने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।
बैठकले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागि हुनु गम्भीर भुल भएको भनि समीक्षा गरेको छ, उनले भने, ‘आत्मसमर्पणवादी मानसिकताबाट ग्रस्त रहेको सरकारमा सहभागि हुनु राप्रपा जस्तो पार्टीलाई प्रत्युपादक हुन पुगेको निष्कर्ष निकालिएको छ ।’

राप्रपाले देशको वर्तमान राजनीतिक परिस्थतिको समीक्षा गर्दै राष्ट्रियता, प्रजातन्त्र र समग्र अर्थतन्त्रमा देखा परेको ह्रास र नकारात्मक प्रबृत्तिप्रति चिन्ता प्रकट गरेको छ । बैठकले आगामी भदौ १५ गतेदेखि देशभर पार्टीका स्थानीय तहका अध्यक्षहरुको सम्मेलन गर्ने, सनातन धर्म सभाको आयोजना गर्नेलगायतका कार्यक्रम पनि तय गरेको छ ।

नेता पशुपति शमशेर राणाले आफ्नो पक्षमा ४० प्रतिशत केन्द्रीय सदस्य तथा सांसद रहेको जिकिर गर्दै पार्टी विभाजनको प्रयास थालेपछि १ भदौबाट हेटौडामा राप्रपा केन्द्रीय समितिको विशेष बैठक बसेको हो । बैठकले राणा पक्षमा लागेकाहरु फेरि फर्किए यसअघि घोषणा गरिएको कारबाही फिर्ता लिने समेत निर्णय गरिदिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ