कार्यवाहक प्रधानमन्त्री गच्छदारले भने–प्रदेश र केन्द्रको चुनाव दुई चरणमा
प्रकाशित २०७४ भदौ ७ बुधबार
293
Shares
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवंम स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा हुने बताएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री गच्छदारले दुई चरणमा चुनाव गर्ने तयारी भइरहेको बताएका हुन् । सरकारले मंसिर १० चुनावको मिति तय गरिसकेको छ ।
मंसीर १० गते पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन हुने कार्यबाहक प्रधानमन्त्री गच्छदारको भनाई छ । गच्छदारले तत्काल दोस्रो चरणको निर्वाचनको मिति समेत घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए ।
पहिलो चरणमा हिमाल र पहाड तथा दोस्रो चरणमा तराईमा निर्वाचन हुने गरी तयारी गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगलाई भनिसकेको कार्यवाहक प्रधानमन्त्री गच्छदारले सुनाए ।
निर्वाचन आयोगले समेत प्राविधिक र भौगोलिक कठिनाईका कारण प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न नसकिने अडान राख्दै आएको छ । प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मा गच्छदारलाई दिएका छन् ।