राजपा चुनावमा आयो, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आयोगमा दल दर्ता
आयोगमा ५६ वटा दल दर्ता
प्रकाशित २०७४ भदौ १० शनिबार
978
Shares
काठमाडौं। राष्ट्रिय जनता पार्टी राजपा नेपालले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।
उक्त पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको नेतृत्वको टोलीले निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएको हो । राजपाको दल दर्ता नम्बर ५५ रहेको छ ।
सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिर १० गतेका लागि घोषणा गरिसकेको छ, भने स्थानीय तहको निर्वाचन प्रदेश नम्बर २ मा आगामी असोज २ गते हुँदैछ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले भदौ ११ गते आइतबारसम्मको समय तोकेको छ । शनिबारसम्म आयोगमा ५६ वटा दलको दर्ता भएका छन् ।
दल दर्ता गराउने क्रममा राजपाको टोलीले प्रमुख निर्वाचन आयुक्त र आयुक्तसँग समेत भेटवार्ता गरी स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको बारेमा केन्द्रीत रहेर छलफल गरेको छ ।
छलफलपछि पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपाको जनताबीचमा जाने निर्णयअनुरुप दलदर्ताको लागि आयोगमा आएको बताए।
उक्त पार्टीले स्थानीय तहको निर्वाचनमा साइकल चिन्हमा चुनाव लडेपनि निर्वाचन आयोगसँग पार्टीको चुनाव चिन्ह छाताको लागि प्रयास गरिरहेको बताइएको छ । टोलीमा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादव, शरदसिंह भण्डारीलगायतका नेता सहभागी थिए ।