नेविसङ्घ म्याग्दीद्वारा रौतहटमा छ लाख बराबरको राहत वितरण
प्रकाशित २०७४ भदौ ११ आइतबार
374
Shares
बेनी । नेपाल विद्यार्थी संघ म्याग्दीले रौतहटका वाढीपिडीत १५० घर परिवारलाई करिब ६ लाख रुपैयाँ बराबरको राहत सामाग्री वितरण गरेको छ ।
तराईमा हालै आएको बाढीबाट पीडित रौतहट जिल्ला परुहा नगरपालिका वडा नं ९ जिंगडिया गाउँका १५० घरपरिवारलाई ५ लाख,७५ हजार २ सय बराबरको खाद्यान्न,लत्ता कपडा, दाल, चामल,नुन, तेल त्रिपाल,ओड्ने,ओछ्याउने, लगायतका सामाग्री वितरण गरेको राहत वितरण कार्यमा सक्रिय नेविसंघ म्याग्दीका पूर्व अध्यक्ष एवं नेपाली कांग्रेस म्याग्दीका महाधिवेशन प्रतिनिधि भरत रकालले बताए ।
‘हामीले गाउँका १५० घरपरिवारलाई, एक महिनासम्म पुग्ने खाद्यान्न र लत्ता कपडाहरु वितरण ग¥यौं’, राहत वितरण कार्यक्रमका अगुवा रकालले भने, “एउटै देशका नागरिक भए पछि तराईमा विपत्ति आउँदा पहाडमा बस्ने नेपाली र पहाडमा विपत्ति आउँदा तराईमा बस्ने नेपालीले सहयोग गर्नु हाम्रो राष्ट्रिय जिम्मेवारी र मानवीय धर्म हो ।”
यसैगरी सिराहा र लाहानमा सांसद एवम् पूर्व स्वास्थ्य मन्त्री गगन थापाद्धारा संचालित ‘माया भरिएको बाल्टिन’ नामक राहत वितरण कार्यक्रममा पनि नेविसंघ म्याग्दी समावेश भएको जनाइएको छ । रासस