पार्टीमा ठूलैबाट घटुवाको प्रारम्भ गरेका छौं : प्रचण्ड
‘वैद्य, विप्लव र बाबुरामजी माओवादीमा नआए भविष्य छैन’
प्रकाशित २०७४ भदौ १२ सोमबार
481
Shares
बिराटनगर । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्रमा माथिबाटै घटुवाको प्रारम्भ गरेको बताएका छन् ।
१ नम्बर प्रदेशको पार्टी प्रशिक्षणमा बोल्दै अध्यक्ष दाहालले भने, “हामीले विचार, राजनीति र नेतृत्वमा त जित्यौं । तर, संगठन र चुनावी परिणाममा जित्न सकेनौं, त्यसको मूख्य कारण भद्रगोल संगठन हो । अब हामीले माथिबाटै घटुवाको प्रारम्भ गरेका छौं । हिजो मात्रै केन्द्रीय कार्यालयलाई भङ्ग गरेर सचिवालयलाई कार्यकारी बनाएका छौं । अब चुस्त संगठन बनाएर अघि बढ्छौं ।’
माओवादी केन्द्रबाट अलग हुने शक्तिहरुलाई जनताले रुचाएनन्, दाहालले अगाडि भने, ‘वैद्यजी, विप्लवजी, बाबुरामजी पनि चुनावमा जानुभयो, जनताले माओवादी केन्द्रमै जाउ भन्ने जनमत दिए । हामीलाई पनि तिमीहरुले अहङ्कार नगर, सबैलाई मिलाउ भन्ने जनमत दिए । धेरै साथीहरु आई सक्नुभएको छ, अब उहाँहरु पनि आउनुपर्छ, नत्र उहाँहरुको पनि भविष्य छैन ।’
माओवादीका कारण देशको एकता र समृद्धि सम्भव भएको दाहालको जिकिर छ ।
उनले भने, “एकथरि मान्छेहरु माओवादी बिगार्न र भत्काउन मात्र सिपालु छ भन्ने ठान्थे । तर, हामीले १० महिनामा त्यो भ्रमलाई पुरै गलत साबित गरिदियौँ । हामीले देशलाई एकतावद्द बनायौँ, हिमाल, पहाड र मधेशलाई मिलायौं । छिमेकीसँग सन्तुलित संविधान बनायौं, संविधान कार्यान्वयनमा लग्यौँ, स्थानीय तह बनायौं, चुनाव गरायौँ, आर्थिक समृद्धि गुणात्मक स्थानमा पुग्यो, मूल्यवृद्धि रोकियो, लोडसेडिङ हट्यो, विकास आयोजनाहरुले गति लिए, यो सामान्य कुरा हुँदै होइन ।’
“मधेशमा माओवादी केन्द्रप्रति लहर आएको छ, दाहालले भने, “११ वर्षपछि मधेशमा जागरण आएको छ । ११ वर्षअघि गौर हत्याकाण्ड घटाएर मधेशमा माओवादीलाई संघीयता विरोधी भ्रामक प्रचार गरे । अहिले परिस्थिति बदलिएको छ, मधेशको मित्र, देशलाई एकतावद्ध गर्ने पार्टी माओवादी नै हो भन्ने स्थापित हुँदैछ, यो हाम्रा लागि खुसीको कुरा हो । जति सुकै षडयन्त्र गरे पनि एकदिन सत्य स्थापित हुने रहेछ, त्यो प्रमाणित हुँदैछ ।’