मन्त्रिपरिषद्को अपूर्ण निर्णय : कुन् क्षेत्रमा कुन् चरणमा निर्वाचन गर्ने भन्ने विषयमा छलफल नै भएन
प्रकाशित २०७४ भदौ १४ बुधबार
319
Shares
काठमाडौँ। प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको सरकारले कुन् जिल्लामा कुन चरणमा निर्वाचन गर्ने भन्ने विषयमा भने छलफल नै नगरी दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ । दुई चरण भनिसकेपछि पहिलो चरणमा कुन कुन् जिल्ला या प्रदेशमा कुन् चरणमा निर्वाचन गर्ने भन्ने स्पष्ट निर्णय नगरी मंसिर २१ गते दोस्रो चरणको निर्वाचन गर्ने निर्णय गरेको हो ।
एक मन्त्रीले हाम्राकुरासँगको कुराकानीमा कुन् कुन् जिल्लामा निर्वाचन गर्ने भन्ने विषयमा छलफल समेत नभएको स्पष्ट पारे । उनले हिमाली जिल्लाहरुमा मंसिरको ढिलासम्ममा हिउँ पर्नसुरु हुने भएकोले पहिलो चरणको निर्वाचन हिमाली क्षेत्रमा नै हुने सम्भावना रहेको बताए । उनले निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिवेदन बुझाईसकेपछि फेरि मन्त्रिपरिषद् बसेर यस विषयमा निर्णय हुनसक्ने ती मन्त्रीले बताए
यसअघि सरकारले दुबै निर्वाचन एकैपटक गर्ने निर्णय गर्दै आगामी मंसिर १० गतेका लागि मिति तोकेको थियो । बैठकको निर्णयबारे जानकारी दिँदै सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले भने, “कहाँ–कहाँ कहिले गर्ने भन्ने बारे अहिले छुट्याएर निर्णण गरिएको छैन, निर्वाचन क्षेत्र, सीमा निर्धारण आयोगले प्रतिवेदन बुझाइसकेको अवस्था छैन, तर आयोगले नै दुई चरणमा गर्नुपर्ने कुरा उठाएको हुँदा दोस्रो चरणको निर्वाचन मंसिर २१ गते गर्ने निणर्य गरिएको छ ।”
प्रदेश प्रमुख र प्रदेशको राजधानी भने राजनीतिक सहमतिका आधारमा छलफल गरेर पछि टुङ्गो लगाउने मन्त्री बस्नेतले बताए । “ बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठन गर्ने निर्णयसमेत गरेको छ, जुन संवैधानिक परिषद्बाट सिफारिस गरिनेछ”–सरकारका प्रवक्तासमेत रहेका मन्त्री बस्नेतले भने।