नवदुर्गाको मुकुण्डो बनाउने चित्रकार भन्छन् 'उचित पारिश्रमिक पाए हुन्थ्यो'
लक्ष्मी गारु,
प्रकाशित २०७४ भदौ १५ बिहिबार
224
Shares
भक्तपुर । “नवदुर्गाको मुकुण्डो मैले नबनाए जिम्मेवारी बोक्ने को ? यो पेशालाई निरन्तरता दिने कसले ? बनाएर न जस छ, न त प्रोत्साहन नै छ । बाहिर काम गर्न गए दैनिक रु दुई हजार ज्याला पाइन्छ । नवदुर्गा देवगणको मुकुण्डो बनाएर न परिवार धान्न सकेको छु न त गुजारा नै ।” उल्लिखित भनाइ भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्वको प्रसिद्ध नवदुर्गा नाचको देवगणको मुकुण्डो बनाउन तल्लीन एकमात्र कालिगड पूर्ण चित्रकारको हो ।
सांस्कृतिक तथा धार्मिक परम्परागत रीतिरिवाज चलाउन प्रत्येक वर्ष निर्माण गरिने नवदुर्गाको मुकुण्डो विशेष गरी आर्थिक अभावसँगै मुकुण्डो बनाउन नयाँ पुस्ता तयार नहुँदा यो पेशा संकटमा परेको हो । नवदुर्गा गण नाचका लागि आवश्यक विभिन्न देवीदेवताका १३ वटा मुकुण्डो बनाउने कार्यमा अहिले पूर्ण चित्रकार एकजनामात्र संलग्न छन् । उनको परिवारका सदस्य समेत यो पेशाबाट विमुख हुँदै गएका छन् । पूर्ण चित्रकारपछि यो पेशा कसले सम्हाल्ने हो यसको उत्तर कसैसँग छैन ।
मुकुण्डो नभए नवदुर्गा नाचसमेत प्रभावित हुन्छ । नवदुर्गाको मुकुण्डो प्रत्येक वर्ष नयाँ बनाउनु पर्छ । मुकुण्डो घण्टाकर्ण चतुर्दशीका दिन बनाउन शुरु गरेर दशैँको महानवमीमा प्रदर्शन गर्न तयार गरिसक्नुपर्छ । महानवमीको राति भक्तपुरको ब्रह्मायणीमा तान्त्रिक विधिले पूजा गरी मुकुण्डोलाई सिद्ध गरेपछि नवदुर्गा नाच शुरु हुन्छ । यो नाचलाई करिब नौ महिना भक्तपुर नगरमा मात्रै २१ ठाउँबाहेक चाँगुनारायण, बनेपा, धुलिखेल, पनौती, साँगा, श्रीखण्डपुर, खम्पू, ढुंर्खकलगायतका स्थानमा प्रदर्शन गरिन्छ ।
नवदुर्गा देवगणको महादेव, गणेश, ब्रह्मायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, सिम्ह, दुम्ह, भैरव र श्वेतभैरव गरी १३ वटा मुकुण्डो तीन महिनामा तयार गर्नुपर्छ । मुकुण्डो बनाउन कालोमाटो, विभिन्न किसिमका ढुंगाबाट बनेको रङ्ग, सुन, मैदा, मट्टीतेल, कपास, नेपाली कागज, जुटको बोरा, कोरा कपडा, मासलगायतका सामग्री आवश्यक पर्छ । हेर्दा सजिलो लाग्ने तर अत्यन्त कठिन कार्य भएकाले कामदारसमेत पाउन मुस्किल रहेको चित्रकार बताउँछन् । उनले मुकुण्डो बनाउन आवश्यक सामग्री खरिददेखि कामदारको ज्याला र आफ्नो ज्यालासमेत जोड्दा वर्षेनी रु एक लाखभन्दा बढी घाटा हुने गरेको बताए ।
मुकुण्डो बनाउन कामदारको ज्याला, आवश्यक सामग्री खरिद र आफ्नो ज्यालासमेत जोड्दा वर्षेनी रु दुई लाखभन्दा बढी खर्च हुने गरेको उनले बताए। आम्दानीभन्दा बढी खर्च हुने भएकाले घरपरिवारले समेत मुकुण्डो नबनाउन दबाब दिने गरेको उनले बताए।
मुकुण्डोमात्र बनाएर पुग्दैन घण्टाकर्णका दिन नवदुर्गाको मुकुण्डो बनाउनलाई माटोको पूजा गर्नुपर्छ । यसरी माटोलाई पूजा गर्न आउने बाजागाजासहितको टोलीलाई भोज खुवाउनुपर्ने बाध्यता छ । नवदुर्गा नाचलाई जीवन्तता दिई परम्परा लोप हुनबाट बचाउने हो भने सम्बन्धित निकायले वर्षेनी मुकुण्डो बनाउनका लागि अक्षयकोष वा उचित आयस्ताको बन्दोबस्त गर्न चित्रकारले माग गरेका छन् । मुकुण्डो बनाउन आवश्यक रकमको जोहो भएमात्र नयाँ पुस्ता तयार हुन सक्ने उनले बताए।
मुकुण्डो बनाउने कार्यका लागि संस्कृति मन्त्रालयले वार्षिक रु ५० हजार र गुठी संस्थान भक्तपुरले वार्षिक रु १५ हजार दिँदै आइरहेको छ । गुठी संस्थानले २०५२ सालमा वार्षिक रु ६०० बाट बढाएर रु १५ हजार पु¥याएको हो भने मन्त्रालयले दुई वर्षयता वार्षिक रु ५० हजार दिन थालेको हो । उहाँले रकम नपुग भएको विषयमा गुठी संस्थानमा पटक–पटक गुनासो लिएर गए पनि हुन्छ हुन्छ भन्ने तर सहयोग भने नगर्ने गरेको गुनासो गरे । उनले भने, “गुठीका हाकिम वर्षदिन नपुग्दै सरुवा हुन्छ र अर्को आउँछ । कति ताकेता गर्नु ? आश्वासनबाहेक केही पाइएन ।”
गुठी संस्थान भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले मुकुण्डोको बनाउन वर्षेनी रु १५ हजार दिँदै आएको जानकारी दिँदै सो रकम अपुग भएको स्वीकार गर्नुभयो । प्रमुख सुवेदीले भन्नुभयो, “गुठीबाट दिइरहेको रकम अलि अपुग हो तर उहाँले मागेको रकम गुठीबाट उपलब्ध गराउनु अलि सम्भव छैन । विसं २०२० देखि नवदुर्गा देवगणको मुकुण्डो बनाउँदै आएका चित्रकार अहिले ७१औँ वसन्त पार गर्ने तरखरमा छन् । उनी धर्म संस्कृतिको जगेर्नाका लागि मात्र मुकुण्डो बनाउन नछोडेको बताउँछन्। उनले उमेरले समेत साथ छोड्दै ल्याएकाले आफूपछि कसले मुकुण्डो बनाउँछ भन्ने चिन्ता लाग्न थालेको बताए।
सम्बन्धित निकायले चासो दिएर आवश्यक रकमको बन्दोबस्त गरिदिए मुकुण्डो बनाउन नयाँ पुस्ता आकर्षित हुने, नभए आफूसँगै मुकुण्डो बनाउने कार्य लोप हुने भयले सताउन थालेको उनको भनाइ छ । नवदुर्गा भगवान् सबैलाई चाहिने, नवदुर्गाको मोहनी (विशेष प्रकारको कालो टीका) सबैलाई चाहिने तर यसको बारेमा कसैले चासो नदिने ?” उनले गुनासो गरे। रासस