काँग्रेसका पूर्व गाविस अध्यक्ष सहित पाँच सय कार्यकर्ता फोरममा प्रवेश
मधेशको मुद्दा सम्बोधन नहुन्जेलसम्म आन्दोलन जारी रहने : अध्यक्ष यादव
प्रकाशित २०७४ भदौ १६ शुक्रबार
161
Shares
महोत्तरी । नेपाली काँग्रेसका पूर्व गाविस अध्यक्ष महेन्द्र यादव सहित अन्य पार्टी परित्याग गरेका करिव पाँचसय कार्यकर्ता संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेलाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वागत गरेका छन् ।
सो अवसरमा यादवले मधेसको मुद्दा सम्बोधन नहुन्जेलसम्म आफूहरुको आन्दोलन जारी रहने बताए । शुक्रबार महोत्तरीको श्रीपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले देशको हरेक निकायमा मधेसी समुदायको समानुपातिक सहभागिता नहुन्जेलसम्म आफूहरुको आन्दोलन जारी रहने बताएका हुन् ।
अध्यक्ष यादवले संविधानमा मधेसीको पहिचान कतै पनि उल्लेख नभएकाले संविधान संशोधन अपरिहार्य भए पनि आफूहरुले आन्दोलनको अर्को रुपस्वरुप चुनावी मैदानमा उत्रिनुपरेको बताए । एक अर्को प्रशंगमा उनले उच्च तहमा दलित नपुगेससम्म देशमा लोकतन्त्र स्थापित हुनैसक्दैन भने।