देउवाले गरेको सम्झौता खारेजीका लागि धरानमा जनप्रदर्शन हुँदै
प्रकाशित २०७४ भदौ १७ शनिबार
641
Shares
इटहरी । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सप्तकोशीमा उच्च बाँध बनाउने समझदारीको विरोध गरेको छ । नेकपाले प्रधानमन्त्री शेरबहादुर देउवाको हालै भएको भारत भ्रमणका क्रममा भएको सम्झौ खारेज गर्न समेत माग गरेको छ ।
सुनसरीको ईटहरीमा पत्रकार सम्मेलन गर्दै नेकपाले नेपाली भू–भाग डुबाएर पानी र विजुली लैजाने भारतीय योजनाकासाथ राष्ट्रहित विपरीत यो सम्झौता भएको भन्दै तत्काल खारेज गर्न माग गरेको हो ।
नेकपाले यो सम्झौताप्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सम्झौता तत्काल खारेज गर्न भनेको छ । योसँगै नेकपाले आउँदो भदौ २२ गते सुनसरीको धरानमा बृहत जनप्रदर्शन गर्ने घोषणा समेत गरेको छ ।
नेकपाले निकालेको विज्ञप्तिमा राष्ट्रघाती सम्झौता खारेज गर्न जनस्तरबाट विरोध र प्रतिरोध गर्नुपर्ने भन्दै सार्वजनिक आह्वान गरिएको छ । प्रचण्ड गठबन्धनका प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भं्रमणका क्रममा समकक्षी नरेन्द्र मोदीसँग गरेको ४८ बुँदे सहमतिको २८ नम्बर बुँदामा उल्लेख कोशीमा उच्च ड्याम बनाउने सम्झौता कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने भन्दै त्यसलाई खारेज गरिनु पर्ने विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा, ‘सम्झौता अनुसार कोशीमा बाँध बाँधिए नेपालका पूर्वी पहाडी जिल्लाहरु डुबानमा पर्नुका साथै लाखौँ मानिस विस्थापित हुने र बाँधको तल्लो क्षेत्रमा रहेका पूर्वी मधेशका सम्पूर्ण भूभागमा क्षति पुग्ने उच्च जोखिम छ । साथै चुरे पहाडको भू–वनोट कमजोर भएकाले भौगर्भिक तथा वैज्ञान्कि दृष्टिले समेत उचित छैन । त्यसैले यो खारेज हुनु पर्दछ, –भनिएको छ ।
पत्रकार सम्मेलनमा कोशी व्यूरो इन्चार्ज नविन कार्कीले नेवालको पानी र विद्युत कब्जा गर्ने उद्देश्यले भारतले कोशीमा बाँध बाँध्ने प्रपञ्च स्वरुप सम्झौता गरेको भन्दै यो कुनै हालतमा यो बाँध बाध्न दिन नहुने बताए ।
नेपालीलाई अझ बढी दुःख दिन खोजेको भन्दै यो सम्झौता कार्यान्वयन गर्न खोजिए भारसँग भिड्न तयार रहेको उनको चेतावनी छ । नेकपाको केन्द्रीय जलस्रोत विभाग सदस्य रामप्रसात राई (किराती)ले कोशीमा धाँध बनाए विपद् निम्तिने भएकाले कुनै हालतमा ड्याम बनाउन नहुने बताए । उनले भने, ‘जबरजस्ती गर्न खोजे भारतसँग जस्तोसुकै युद्ध लड्न तयार हुनुपर्दछ ।’