गृहमन्त्री शर्माले भने ‘चुनावमा सत्ता पक्ष र प्रतिपक्ष बन्नु हुँदैन’
प्रकाशित २०७४ भदौ १८ आइतबार
324
Shares
सिमरा । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले निर्वाचनमा सुरक्षा चुनौती नरहेको बताएका छन् । उनले भरपर्दो सुरक्षा व्यवस्था मिलाईएकाले ढुक्क भएर मतदानमा सहभागी हुन मतदाताहरुलाई आह्वान गरे।
बाराको सिमरा विमानस्थलमा शनिबार बिहान पत्रकारहरुसँग कुरा गर्दै मन्त्री शर्माले सीमा क्षेत्रमा नेपाल–भारत दुबै देशका सुरक्षा संयन्त्रहरुबीच नियमित सम्पर्क र समन्वयमार्फत् काम भईरहेको जानकारी दिए। उनले भने, ‘बोर्डर क्षेत्रमा रहेका दुबै देशका संयन्त्रहरुबीच नियमित बैठक भइरहेको छ । चुनावमा सुरक्षा चुनौती छैन ।’
आगामी निर्वाचनमा मतदान गर्न मतदाता आतुर रहेको पनि उनले बताए। चितवनको भरतपुरको सन्दर्भबारे पत्रकारको जिज्ञासामा मन्त्री शर्माले भने, ‘निर्वाचनमा सत्तापक्ष र प्रतिपक्ष हुँदैन । मतदाताले हो परिणाम दिने । मतदाताले जसलाई मत दिन्छन् त्यही विजयी हुने हो ।’
माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री शर्माले दुई नम्बर प्रदेश हुन लागेको स्थानीय चुनावका लागि जित्ने उम्मेदवारलाई पार्टीले टिकट दिने बताए। टिकट वितरणमा भेदभाव हुने गरेकोबारे पत्रकारको जिज्ञासाको जवाफ दिँदै मन्त्री शर्माले भने, ‘राम्रो परिणाम जसले ल्याउँछ उसैले टिकट पाउँछ । पार्टीमा नजिक-टाढा कोही छैन ।’
माओवादी केन्द्र परिवर्तनकारी शक्ति हो भनेर सबैले बुझेको भन्दै उनले आगामी चुनावको परिणाम पनि त्यसैअनुसार आउने अपेक्षा गरे। विपद व्यवस्थापन सम्बन्धी विधेयकलाई अन्तिम रुप दिने काम भइरहेको जानकारी गराउदै मन्त्री शर्माले छिट्टै संसदमा पेश गर्ने पनि बताए ।