हाम्रो प्रतिष्पर्धी काँग्रेसनै हो, प्रचण्डको नौटंगी मन परेको छैन : मण्डल
प्रकाशित २०७४ भदौ १८ आइतबार
515
Shares
काठमाडौं । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पहिलो भएको एमाले तेस्रो चरणमा पनि पहिलो पार्टी बन्ने रणनीतिमा छ । आफुविरुद्ध मधेस विरोधी भावना फैलाइएको निष्कर्ष निकाल्दै एमालेले दुई नम्बर प्रदेशको चुनावको मुख्य ध्येय भ्रम चिरेर पहिलो पार्टी बन्ने रहेको जनाएको छ ।
एमालेले आफुहरुविरुद्ध सत्ताधारीले मोर्चाबन्दी गरेको भन्दै एमाले एक्लै चुनाव लड्न सक्षम रहेको जिकिर गरेको छ । एमाले स्थायी समिति सदस्य एवं प्रदेश नम्बर २ को संयोजक रहेका सत्यनारायण मण्डलले आफुहरुको मुख्य प्रतिस्पर्धी काँग्रेस नै रहेको बताएका छन् । उनले भने, ‘प्रचण्डको नौटंगी मन परेको छैन । एमालेविरुद्ध जतिनै मोर्चावन्दी गरेपनि मुख्य प्रतिस्पर्धा एमाले र काँग्रेसबीचमै हुन्छ ।’ माओवादी केन्द्र र राजपाको चुनावी तालमेल हुनेतर्फ संकेत गर्दै मण्डलले यसो भनेका हुन् ।
संविधान संसोधन विधेयकको विपक्षमा मतदान गरेको एमालेले पनि काँग्रेस माओवादीसँगै मिल्दा जुल्दा चुनावी नारा अघि सारेको छ । एमालेले २ नम्बर प्रदेशमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काँग्रेस, माओवादीकै नारालाई अघि ल्याएको छ । जनकपुरलाई महानगर बनाउने योजना समेत एमालेले अघि सारेको छ ।
यस्तै, एमालेले बाढी तथा डुवानको समस्यालाई दीर्घकालीन रुपमा समाधानको प्रयास गर्ने र तराईका जनतालाई सधैका लागि यो समस्या बाट मुक्ति दिलाउने एमालेको चुनावी नारा छ । यस्तै, हुलाकी राजमार्ग निर्माण कार्यको अग्रसरता लिने विषय पनि एमालेले अघि सारेको छ ।