arrow

उत्तर कोरियाले गरेको बम परिक्षणको जवाफ स्वरुप दक्षिण कोरियाले हान्यो क्षेप्यास्त्र (भिडियो)

उत्तर कोरियाबिरुद्ध केही गर्न नसकेकोमा अमेरिकी राष्ट्रपतिद्वारा दक्षिणको आलोचना

logo
प्रकाशित २०७४ भदौ १९ सोमबार
south_korea.jpg

सोल । दक्षिण कोरियाली सेनाले जमिनबाट आकासमा हान्ने खालको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको समाचार छ । उत्तर कोरियाको आणविक परीक्षणपछि दक्षिणले पनि यस्तो क्षेप्यास्त्र हानेको समाचारमा जनाइएको छ । दक्षिण कोरियाली सेनाले सोमबार बिहान जमिनबाट आकासमा हान्ने खालको क्षेप्यास्त्र हानेको सोलबाट प्राप्त समाचारमा जनाइएको छ ।

उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको आग्रहको बेवस्ता गर्दै आणविक परीक्षणहरु गर्दै आएको छ । उसले आइतबार मात्र पनि एक शक्तिशाली आणविक परीक्षण गरेको थियो र त्यो परीक्षण हाइड्रोजन बम विश्रित रहेको पुष्टी पनि भएको छ ।

दक्षिणको सेनाले सोमबारको बिहानको मिर्मिरे उज्यालोमा छोटो दुरीको हाइम्बु नामको ब्यालेस्टिक क्षेप्यास्त्र आकासतिर हानेको थियो । पछि त्यो जमिनमै फर्किएको दृश्य उनीहरुले सार्वजनिक गरेको भिडियोमा देखिएको छ ।

दक्षिण कोरियाली अधिकारीहरुले सार्वजनिक गरेको भिडियोमा उक्त क्षेप्यास्त्र हानेको दृश्य कैँद गरिएको छ । उक्त भिडियोमा दक्षिण कोरियाको एफ१५ लडाकू बिमानले जमिनबाट आकासमा हानेका क्षेप्यास्त्रका दृश्यहरु देखिएको छ ।

यसलाई उनीहरुले नै छोटो दुरीको भनी व्याख्या गरेका छन् । लम्बाई कति सम्म हो भन्ने बारेमा पनि उनीहरुले उक्त भिडियो वा सेनाको विज्ञप्तिमार्फत केही स्पष्ट गरेका छैनन् ।

देशको पूर्वी समुद्रमा सो ब्यालेस्टिक क्षेप्यास्त्रको लक्ष बनाइएको थियो । क्षेप्यास्त्रको परीक्षण सफल भएको र तोकिएको गन्तव्यमा क्षेप्यास्त्र पुगेर सकुशल फिर्ता भएको दक्षिण कोरियाली सेनाका प्रमुखले जनाएको भन्दै समाचारमा उल्लेख गरिएको छ ।

उता हिजोमात्र उत्तरले गरेको हाइड्रोजन बम परीक्षणको समाचारलाई संसारका समाचार समितिहरुले आइतबार बिहानदेखि सम्प्रेषण गरेका थिए । ती समाचारहरुमा यो घटनाबाट संसारमा ठूलो हलचल पैदा भएको मात्र नभई आणविक शस्त्रको होड बढाउने त्रासका रुपमा पनि टिप्पणी गरेका थिए ।

उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमहरुले उत्तर कोरियाले आइतबार बिहान हानेको हाइड्रोजन बम शक्तिशाली र सफल भएको जनाएका थिए । उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरु परीक्षण गर्दै आएको छ ।

केही समयमात्र अघि पनि उसले अन्तरमहादशीय क्षेप्यास्त्र हानेको थियो । जो जापानको समुद्रसम्म पुगेर निस्तेज भई खसेको बताइएको थियो । त्यस यता पनि उत्तरले यस क्रमलाई निरन्तरता दिएको छ ।

उत्तर कोरियाका छिमेकी देशहरु दक्षिण कोरिया र जापानले आइतबारको हाइड्रोजन बम परीक्षणको पुष्टीगर्दै यसका कारण उनीहरुको देशको भूभागका पनि भूकम्पको जस्तै कम्पन आएको बताएका छन् ।

फ्रान्सेली समाचार समितिले दक्षिण कोरिया र चीनका विज्ञहरुलाई उद्धृतगर्दै लेखेको छ– उत्तर कोरियाले क्षेप्यास्त्रहरु निर्माण गर्ने गरेको क्षेत्रमा कम्तीमा पनि छ म्याग्निच्युड हाराहारीको कम्पन आएको जनाएको छ ।

पहिलेको भन्दा यस परीक्षण धेरै शक्तिशाली रहेकोले पनि विश्वमा उत्तर कोरियाको हिजोको परीक्षणले तनाव उत्पन्न गरेको बताइन्छ । उत्तर कोरियाले यसअघि गरेको पाँचौ पटकको परीक्षणभन्दा यो कम्तीमा पनि दश गुणा बढी शक्तिशाली रहेको टिप्पणीहरु गरिएको छ ।

दक्षिण कोरियाले सोमबार गरेको परीक्षण पनि उत्तरको परीक्षणस्थलसम्म लक्ष गरिएको पाइएको छ । जसका कारण यी दुवै परीक्षणले आपसमा लक्ष गरेको देखिन्छ ।

उत्तर कोरियाले आइतबार हाइड्रोजन बम मिश्रित क्षेप्यास्त्र परीक्षण गरेको स्थानलाई लक्ष गरेर गरिएको सो परीक्षण पनि सफल भएको दक्षिण कोरियाले जानकारी दिएको छ ।

यस परीक्षणपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले दक्षिण कोरियाले कडाभन्दा कडा सजाय दिनसक्ने बताएका छन् ।  उनको यो भनाई उत्तर कोरियाप्रति लक्ष रहेको देखिन्छ ।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने पछिल्लो समयमा उत्तरले गरेको आणविक परीक्षणपछि दक्षिण कोरिया जिम्मेवार रुपमा जवाफ फर्काउन सक्ने अवस्थामा किन नदेखिएको होला भनी टिप्पणी गरेका थिए ।

उनले आइतबार उत्तर कोरियाले गरेको परीक्षणको लगत्तै गरेको कैयौँ ट्वीटहरुमा भने – दक्षिणले गर्ने भनेको उत्तरसँगको शान्तिपूर्ण वार्ता सम्भव छैन तर तिमीहरु (दक्षिण कोरिया) ले गर्ने भनेको कारबाही आक्रमणको बदला आक्रमण नै हो ।

त्यसपछि सोमबार बिहान दक्षिण कोरियाको तर्फबाट यो जवाफी फायरिङका रुपमा ब्यालेस्टिक क्षेत्रप्यास्त्र परीक्षणको कुरा आएको हो । यसअघि भने उत्तर कोरियाले बारम्बार यस्तो क्षेप्यास्त्रहरु परीक्षणगर्दा भने दक्षिणले विरोध मात्र गर्ने गरेको थियो ।

यस पटक भने दक्षिण कोरियाले पनि यो क्षेप्यास्त्र हानेको समाचार अनौठो रुपमा प्रचारमा आएको छ । उत्तरको क्षेप्यास्त्रका विरुद्ध दक्षिणले पनि यसरी क्षेप्यास्त्र नै हान्ने यो धेरै लामो समयपछिको घटना हो ।

तर यो परीक्षणपछि भने अमेरिकी राष्ट्रपतिको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । दक्षिण कोरियाली राष्ट्रपतिले भने उत्तरलाई राम्रो सबक सिकाउने र आवश्यक मात्रामा जवाफ दिने बताएका छन् । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ