अझ शक्तिशाली हतियार र क्षेप्यास्त्र विकास गर्न किम जोङको निर्देशन
प्रकाशित २०७४ भदौ २५ आइतबार
493
Shares
सोल। उत्तर कोरियाली नेता किम जोङ उनले उक्त देशले हालै गरेको क्षेप्यास्त्र परीक्षणको काममा निकै ठूलो सफलता हात पारेको प्रतिक्रिया दिएका छन् । किमले यसलाई आफ्नो देशको ठूलो सफलता हो भन्दै यसप्रति सिंगो देशले नै गर्व गर्नुपर्नेमा जोड दिएको उत्तर कोरियाली सञ्चारमाध्यमहरुले आइतबार जानकारी दिएका छन् ।
उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको आग्रहको बेवास्तागर्दै आणविक परीक्षणहरु गर्दै आएको छ । उसले गतहप्ता मात्र एक शक्तिशाली आणविक परीक्षण गरेको थियो र त्यो परीक्षण हाइड्रोजन बम विश्रित रहेको पुष्टी पनि भएको छ । उत्तर कोरियाली नेताले उक्त हाइड्रोजन बमको परीक्षणका अन्वेषक र यसमा संलग्न मिसाइल बैज्ञानिकहरुसँग शनिबार राति रात्रिभोज गरेको समाचारमा जनाइएको छ ।
उनले ती बैज्ञानिकहरुलाई विशेष धन्यवाद पनि ज्ञापन गरेको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमहरुले जानकारी दिएका पछिल्लो समाचारमा जनाइएको छ ।
उक्त रात्रिभोजसँगै किमले मिसाइल बैज्ञानिकहरुलाई आगामी दिनमा थप हतियारको विकासका लागि पनि निर्देशन दिएका छन् । उनले अझै शक्तिशाली हतियार र क्षेप्यास्त्र निर्माणका लागि निर्देशन दिएको समाचारमा उल्लेख गरिएको छ ।
उता उत्तरले गरेको हाइड्रोजन बम परीक्षणको समाचारलाई संसारका समाचार समितिहरुले आजसम्म पनि एक विश्व समाचारकै रुपमा सम्प्रेषण गरिरहेका छन् । ती समाचारहरुमा यो घटनाबाट संसारमा खतरा पैदा भएको मात्र नभई आणविक शस्त्रको होड बढाउने त्रासका रुपमा पनि टिप्पणी गरेका थिए ।
उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमहरुले उत्तर कोरियाले गरेको हाइड्रोजन बम शक्तिशाली र सफल भएको जनाएका थिए । उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरु परीक्षण गर्दै आएको छ ।
पहिलेको भन्दा यस परीक्षण धेरै शक्तिशाली रहेकोले पनि विश्वमा उत्तर कोरियाको हिजोको परीक्षणले तनाव उत्पन्न गरेको बताइन्छ । उत्तर कोरियाले यसअघि गरेको पाँचौ पटकको परीक्षणभन्दा यो कम्तीमा पनि दश गुणा बढी शक्तिशाली रहेको टिप्पणीहरु गरिएको छ ।