फेरि मन्त्रिपरिषद् विस्तार, देउवाको अघि–पछि ५६ जनाको हुल
मन्त्री र राज्यमन्त्री झण्डै बराबर
प्रकाशित २०७४ असोज २ सोमबार
584
Shares
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि मन्त्रिपरिषद् विस्तार गरेका छन् । देउवाले सोमबार सरकारमा दुई राज्यमन्त्री थपेर सातौँ पटक मन्त्रिपरिषद विस्तार गरेका हुन् । देउवा नेतृत्वको मन्त्रिपरिषदमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकबाट विराज विष्ट र कमला शर्माले राज्यमन्त्री नियुक्त भएका हुन् ।
दुबैले पद तथा गोपनीयताको सपथ समेत लिइसकेका छन् । विष्ट विज्ञान तथा प्रविधि र शर्मा वन तथा भू–संरक्षण राज्यमन्त्रीमा नियुक्त भएका हुन् । विष्टले पहिले पनि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सहायक मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
शर्मा पहिलो पटक राज्यमन्त्री भएकी हुन् । दुई राज्यमन्त्री थपिएसँगै देउवाको मन्त्रिपरिषद ५६ सदस्यीय भएको छ । देउवाले अहिलेसम्मकै सबैभन्दा ठूलो आकारको मन्त्रिपरिषद बनाएका छन् ।
२२ वर्षअघिको ५२ सदस्यीय मन्त्रिपरिषद बनाएको आफ्नै कदमलाई उछिन्दै देउवाले इतिहासकै ठूलो मन्त्रिपरिषद बनाएका हुन् । भद्दा र खर्चिलो मन्त्रिपरिषद बनाएको भन्दै आलोचना भएपछि देउवाले जवाफमा परिस्थितिले बाध्य पारेको बताएका थिए ।
देउवालेका मन्त्री र राज्यमन्त्रीलाई मन्त्रालयमा बस्ने ठाउँनै नभएपछि बाहिर बाहिरै मन्त्रीहरु कार्यक्रममा गएर दिन कटाईरहेका खबर आइरहेका छन् ।
५० सदस्यीय मन्त्रिपरिषद बनाएर आलोचना खेपिसकेका प्रधानमन्त्री देउवाले गएको सोमबार चारजना मन्त्री थपेर ५४ सदस्यीय मन्त्रीमण्डल बनाएका थिए । देउवाको मन्त्रिरिषदमा अब २९ मन्त्री र २६ राज्यमन्त्री भएका छन् ।
बहुदल आएपछि २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बन्ने अवसर पाउँदा देउवाले ५२ सदस्यीय जम्बो मन्त्रिमण्डल बनाएका थिए । त्यतिबेला देउवा नेतृत्वको मन्त्रिपरिषदमा २७ मन्त्री, १६ राज्यमन्त्री र ८ सहायक मन्त्री थिए ।
लोकतान्त्रिक गणतन्त्र घोषणापछि बनेको सरकारका तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले ४९ र एमाले नेता माधव नेपालले ४८ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए ।
प्रधामन्त्री निर्वाचित भएपछि सदाचारको नीति लिने भनि पहिलो निर्णय गरेका प्रधानमन्त्री देउवाको मन्त्रिपरिषद सदस्यहरुलाई सेवा सुविधा र पारिश्रमिक दिँदा महिनामा करोडौँ रकम खर्च हुनेछ ।