लोकतन्त्र बलियो बनाउन गणेशमानको विचार र आदर्शलाई अनुसरण गर्न आवश्यक
प्रकाशित २०७४ असोज २ सोमबार
298
Shares
काठमाडौं । गणेशमान सिंहको विचार र आदर्शलाई व्यवहारमा अनुसरण गर्न सक्यौं भने लोकतन्त्रको जग बलियो हुनेमा सहभागी वक्ताहरुले जोड दिएका छन् ।
नेपाली काँग्रेसका नेता गणेशमान सिंहको २०औँ स्मृति दिवसका अवसरमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानले सोमबार आयोजना गरेको ‘गणेशमान सिंह र संवैधानिक लोकतान्त्रिक विकास’ विषयक अन्तरक्रियामा उनीहरुले मुलुकको विकास र समृद्धिका लागि सबैले लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।
संविधानविद् नीलाम्बर आचार्यले ‘तिमी जे काम गर्छौं, फत्ते गरेर देखाऊ’ भन्ने गणेशमानको विचार अहिलेको राजनीतिमा अत्यन्तै महत्व राख्ने बताउँदै आफ्नो आदर्श र विचारका लागि जीवनभर लडिरहने गणेशमानको आदर्श र लडाईंलाई काँग्रेसका कार्यकर्ताले व्यवहारमा उतार्नुपर्ने बताए ।
गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीले आफ्नो अधिकारका लागि लड्ने तथा अरूको अधिकारको रक्षाका लागि मरिमेट्ने गणेशमानको विचार सबैका लागि अनुकरणीय भएको बताउँदै गणेशमानले समाजलाई लोकतान्त्रिक पद्धतिभित्र बस्न सिकाउनुभएको धारणा व्यक्त गरे ।
पूर्वमन्त्री होमनाथ दाहालले गणेशमान सिंहले देश र जनतालाई दिएको योगदान जनताले सम्झिरहने बताउँदै सिंह युगपुरुष भएको बताए ।
सांसद राधेश्याम अधिकारी, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)का अध्यक्ष जीवराज पोखरेल तथा प्रतिष्ठानका कोषाध्यक्ष विजय घिमिरेलगायत गणेशमानको व्यक्तित्वका विविध पक्षमाथि प्रकाश पारेका थिए ।